गुल्मी अस्पतालको भवन पाँच वर्षसम्म अलपत्र, मन्त्री लम्सालले भने– ‘आजै ठेक्का तोड्नुस्’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०८३, सोमबार ०६:४३

रुपन्देही । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको गुल्मी अस्पतालको नयाँ भवन पाँच वर्ष पुग्न लाग्दासमेत पूरा नभएपछि भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ठेक्का सम्झौता तत्काल तोडेर नयाँ प्रक्रियामा जान निर्देशन दिएका छन्।

गुल्मी अस्पतालको निर्माणाधीन भवनको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै ‘आजै ठेक्का तोड्नुस्, काम गरेको भुक्तानी दिएर आजै टुङ्गो लगाउनुस्’ भन्दै सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

निर्माणको जिम्मा स्वच्छन्द–बानियाँ जेभीले लिएको र उक्त कम्पनी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसँग जोडिएको विषय उठेपछि पत्रकारले ठेक्का तोड्न सक्नेबारे प्रश्न गरेका थिए।

जवाफमा मन्त्री लम्सालले ‘मुख्यमन्त्री होस् कि जोसुकै होस्, पाँच वर्षसम्म अलपत्र पार्नेलाई अब कुर्न सकिँदैन’ भन्दै ठेक्का तोडेर नयाँ प्रक्रियामा लैजान निर्देशन दिए।

उनले आफूलाई ठेकेदार को हो भन्ने विषयसँग कुनै सरोकार नरहेको र निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुनुपर्ने विषयमा आफू स्पष्ट रहेको बताए।

दुई वर्षको ठेक्का, पाँच वर्षसम्म पनि अधुरै

गुल्मी अस्पतालको नयाँ भवन निर्माणका लागि २०७८ असार १८ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० असार १७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

तर पटक–पटक म्याद थपिँदासमेत भवन निर्माण पूरा हुन सकेको छैन। पाँच तले भवन निर्माणको कुल लागत २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँ रहेको छ।

हालसम्म भवनको भौतिक प्रगति ९२ प्रतिशतभन्दा बढी पुगेको बताइएको छ। तर करिब ६ करोड रुपैयाँ बराबरको काम अझै बाँकी रहेको छ। भवनमा अहिले पेन्टिङ, वायरिङ, आल्मुनियम जडानलगायतका काम भइरहेको छ।

परियोजनाका लागि भारत सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत रकम उपलब्ध गराइएको थियो।

पुरानै साँघुरो भवनबाट सेवा

नयाँ भवन निर्माणमा ढिलाइ हुँदा गुल्मी अस्पताल अझै पुरानै साँघुरो भवनबाट सेवा सञ्चालन गर्न बाध्य छ। सीमित शय्या, वार्ड तथा आवश्यक पूर्वाधारको अभावका कारण बिरामी र स्वास्थ्यकर्मी दुवैले समस्या भोग्दै आएका छन्।

गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालका अनुसार जिल्लाका विभिन्न स्थानीय तहसँगै छिमेकी जिल्लाबाट समेत दैनिक ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्।

तर पुरानो भवन साँघुरो हुनुका साथै सीमित शय्या र सेवा विस्तारका लागि आवश्यक स्थानको अभाव हुँदा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भइरहेको उनले बताए।

नयाँ भवनबाट सेवा विस्तारको योजना

नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालमा व्यवस्थित ओपीडी, आपत्कालीन, प्रसूति तथा शल्यक्रिया सेवा विस्तार गर्ने योजना छ। प्रयोगशाला, एक्स–रे तथा विशेषज्ञ उपचार सेवाका लागि समेत थप पूर्वाधार तयार हुने बताइएको छ।

त्यसैगरी थप शय्याको व्यवस्था गर्दै आईसीयू, सर्जिकल, मेडिकल तथा बाल उपचारका लागि छुट्टाछुट्टै कक्ष सञ्चालन गर्ने तयारी छ। तर भवन निर्माणमा भएको ढिलाइका कारण यी सेवा विस्तारका योजना प्रभावित भएका छन्।

गुल्मी अस्पताल २०७१ सालमै ५० शय्यामा स्तरोन्नति भए पनि आवश्यक भौतिक पूर्वाधार निर्माण हुन नसक्दा त्यसअनुसार सेवा विस्तार पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।

‘अब कुनै हालतमा ढिलाइ गर्न हुँदैन’

अस्पताल विकास समिति अध्यक्ष राजेन्द्र पाण्डेले जिल्लावासीले लामो समयदेखि सुविधासम्पन्न अस्पताल भवनको प्रतीक्षा गरिरहेको भन्दै अब निर्माणमा थप ढिलाइ गर्न नहुने बताए।

उनका अनुसार भवन निर्माणमा भइरहेको ढिलाइले राज्यको ठूलो लगानी रोकिएको मात्र नभई नागरिकले समयमै पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवासमेत प्रभावित भएको छ।

मन्त्री लम्सालले स्थलगत अनुगमनपछि तत्काल ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिए पनि निर्माण कम्पनीसँगको सम्झौता तत्काल खारेज हुन्छ वा बाँकी काम सोही कम्पनीमार्फत पूरा गराउने विकल्प रोजिन्छ भन्ने विषय भने स्पष्ट हुन बाँकी छ।

भवनको भौतिक प्रगति ९२ प्रतिशतभन्दा बढी पुगिसकेको अवस्थामा बाँकी काम पूरा गर्ने वा नयाँ ठेक्का प्रक्रियामा जाने विषयमा अब सम्बन्धित निकायले लिने निर्णयलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor