काठमाडौं । खाना पकाउने ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्दै आपूर्ति सहज बनाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ।
भारतबाट खाना पकाउने ग्यासको आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमनलाई कडाइ गरिएको हो।
उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बजार अनुगमनलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइएको छ। उनका अनुसार पछिल्लो समय ग्यासको आपूर्तिमा समेत क्रमशः सहजता आउन थालेको छ।
आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा ग्यास बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न उद्योगमन्त्री गौरीकुमारी यादवले गृहमन्त्री सुधन गुरुङसँग काठमाडौं उपत्यकाका ग्यास डिपोहरूमा सुरक्षाकर्मी परिचालन गरी अनुगमन गर्न आग्रह गरेकी थिइन्।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय तथा सहजीकरणका लागि निर्देशन दिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।
सरकारले ग्यासको आपूर्ति नियमित रहेकाले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि निगरानी बढाउन आग्रह गरेको छ।
प्रतिक्रिया