करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंकको सहकार्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०८३, सोमबार ०५:४४

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा योगदान पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्ट मा ‘बिल जितौँ’ सुविधा सञ्चालनमा ल्याएको छ।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमअन्तर्गत योग्य उपभोक्ताले नियमित लक्की ड्रमार्फत नगद पुरस्कार जित्ने अवसर पाउनेछन्। नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बैंकको मोबाइल बैंकिङ एपमार्फत बैंक वा वालेटको Merchant QR मा डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबारहरू स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुने व्यवस्था गरिएको छ। त्यसका लागि छुट्टै दर्ता गर्नुपर्ने आवश्यकता नपर्ने बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंकका ग्राहकहरूले एमबीएल एम–स्मार्ट एपमा लग–इन गरी ‘बिल जितौँ’ (IRD) मेनुमा प्रवेश गरेपछि कार्यक्रममा योग्य भएका कुल कारोबार संख्या, योग्य कारोबारको विस्तृत विवरण तथा उपहार विजेता भएको अवस्थामा सम्बन्धित जानकारीसमेत एकै स्थानबाट सहज रूपमा हेर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गर्नेछ। जसअनुसार प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात रु. १ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई रु. १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।

यस अवसरमा माछापुच्छ्रे बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई रु. १०० भन्दा बढीको प्रत्येक खरिदमा Merchant QR मार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा VAT/PAN बिल लिन, बिल सुरक्षित राख्न तथा एमबीएल एम–स्मार्टको ‘बिल जितौँ’ मेनुमार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।

बैंकले डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित तथा ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्य गर्न आफू निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

बैंकले ‘डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र रु. १० लाखसम्मको उपहार जित्ने अवसर नछुटाऔँ’ भन्ने सन्देशसहित ग्राहकलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor