आजदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम, पहिलो चरणको नतिजा सार्वजनिक हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०८३, शुक्रबार ०५:४०

काठमाडौं ।  आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागका प्राविधिकहरूले उपहार छनोट विधि र प्रणालीबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नमुना प्रदर्शनमार्फत जानकारी गराएका थिए।

विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालका अनुसार पहिलो चरणको उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक गरिनेछ। यसअन्तर्गत साउन १ देखि १५ गतेसम्म डिजिटल वा नगद माध्यमबाट वस्तु तथा सेवा खरिद गरी नियमानुसार बिल प्राप्त गरेका उपभोक्ताहरू सहभागी भएका छन्।

उपहार कार्यक्रमअन्तर्गत उक्त अवधिको दैनिक कारोबारका आधारमा १५ जना उपभोक्ताले करकट्टीसहित प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन्। साथै, सोही अवधिका सम्पूर्ण सहभागीमध्येबाट एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गर्नेछन्। बम्पर उपहार रकममा भने प्रचलित कानुनबमोजिम कर लाग्नेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर सहभागिता बढाउने र उपभोक्तामा बिल लिने बानीको विकास गर्ने उद्देश्यले यो कार्यक्रम घोषणा गरेका हुन्।

कार्यविधिअनुसार अब प्रत्येक महिनाको १६ गते अघिल्लो १ देखि १५ गतेसम्मको कारोबारका लागि तथा महिनाको अन्तिम दिन १६ गतेदेखि मसान्तसम्मको कारोबारका लागि गोलाप्रथामार्फत उपहार विजेताको घोषणा गरिनेछ।

बैंक वा डिजिटल वालेटको क्युआरमार्फत भुक्तानी गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्। तर, उपहार दाबी गर्न खरिद बिल सुरक्षित राख्नुपर्नेछ। नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी उपहार कुपन प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor