अर्थतन्त्र विस्तारमा सरकार र बैंकबीच सहकार्य आवश्यक : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०८३, बुधबार ०५:२४

काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र विस्तार गरी उच्च आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकिङ क्षेत्रबीच आपसी सहकार्य र समन्वय अपरिहार्य रहेको बताएका छन्।

नयाँ बजेट कार्यान्वयन तथा वित्तीय बजारको अवस्थाबारे अर्थ मन्त्रालयले मंगलबार आयोजना गरेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँगको छलफलमा उनले सरकार र बैंकहरू साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रका समस्या प्रत्यक्ष रूपमा सुन्न, समाधानका लागि सरकारी पहल गर्न तथा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न छलफल आयोजना गरिएको बताए। उनले बैंक तथा बैंकरहरूलाई आफ्ना नीतिगत र व्यावहारिक समस्या खुलस्त रूपमा राख्न आग्रह गर्दै सरकारले इमानदारीपूर्वक समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए।

अर्थतन्त्र विस्तारका लागि सरकारले आर्थिक नीतिको दिशा परिवर्तन गरेको उल्लेख गर्दै उनले अर्थतन्त्रको आकार ७४ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको बताए। त्यसका लागि लगानी विस्तार, रोजगारी सिर्जना र निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

बैंकहरूले अपेक्षाअनुसार कर्जा विस्तार गर्न नसक्नुका कारणबारे जिज्ञासा राख्दै उनले सरकारले सहजीकरण गर्नुपर्ने विषय भए खुलस्त रूपमा प्रस्तुत गर्न आग्रह गरे। बैंकिङ क्षेत्रले भोगिरहेका कठिनाइलाई एकीकृत रूपमा मन्त्रालयमा पेस गर्न पनि उनले अनुरोध गरे।

छलफलमा सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले मुलुकमा लगानीको वातावरण नभएको भन्ने धारणा सही नभएको बताए। उनीहरूका अनुसार केही पुराना नियामकीय व्यवस्था र नीतिगत जटिलताले बैंकिङ क्षेत्र प्रभावित भए पनि ती समस्या समाधान गर्न सकिने प्रकृतिका छन्।

बैंकरहरूले जलविद्युत् क्षेत्रमा लगानीका लागि बैंकहरूबीच तीव्र प्रतिस्पर्धा रहेको उल्लेख गर्दै अन्य उत्पादनमूलक क्षेत्रमा पनि क्रमशः लगानीको माग बढ्ने संकेत देखिएको बताए। उनीहरूले सरकार र नेपाल राष्ट्र बैंकबाट केही नीतिगत सहजीकरण भए अर्थतन्त्र थप चलायमान हुने विश्वास व्यक्त गरे।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा बढ्दो लगानीलाई थप सहजीकरण गर्नुपर्नेमा जोड दिए। उनले ठूला परियोजना समयमै सम्पन्न गर्न र साना तथा ठूला व्यवसायीको विश्वास जित्ने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिए।

सिटिजन्स इन्टरनेसनल बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेलले बैंकिङ क्षेत्रको वर्तमान सुस्ततालाई आर्थिक चक्रको स्वाभाविक अवस्थाका रूपमा लिनुपर्ने बताए। उनले जलविद्युत् क्षेत्रमा लगानीको आकर्षण उच्च रहेको र बाहिर प्रचार भएजस्तो बैंकिङ क्षेत्र कमजोर अवस्थामा नरहेको धारणा राखे।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले बजारमा व्यवसायीको आत्मविश्वास घटेको विषयलाई सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताए। साथै, बैंकहरूको कर्जा प्रवाह क्षमता बढाउन नेपाल राष्ट्र बैंकबाट आवश्यक नीतिगत सहजीकरण हुनुपर्ने र सरकारले घोषणा गरेको गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी छिट्टै सञ्चालनमा आउने अपेक्षा व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

slot gacor