करदाता उपहार कार्यक्रममा योग्य कारोबार १० लाख ८२ हजार नाघ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०८३, मंगलवार ०५:४६

काठमाडौं।  करदाता उपहार प्रोत्साहन कार्यक्रममा सहभागी हुन योग्य कारोबारको संख्या सोमबारसम्म १० लाख ८२ हजार नाघेको छ। आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म कुल १० लाख ८२ हजार ६२२ वटा कारोबार तथा बिल उपहार कार्यक्रमका लागि योग्य भएका छन्।

विभागका अनुसार यसमा क्यूआर कोडमार्फत भएका कारोबार र नगद कारोबारपछि उपभोक्ताले प्रणालीमा अपलोड गरेका भौतिक बिलसमेत समावेश छन्। उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारका बिल प्रविष्ट गर्न सकिने भएकाले योग्य कारोबारको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन १ देखि १५ गतेसम्म क्यूआरमार्फत गरिएका १० लाख ७४ हजार ७९६ कारोबार उपहार कार्यक्रमका लागि योग्य छन्। यस्तै, शनिबारदेखि सञ्चालनमा आएको भौतिक बिल अपलोड सुविधामार्फत हालसम्म ३ हजार ४२७ वटा नगद कारोबारका बिल दर्ता भएका छन्।

विभागले पहिलो चरणअन्तर्गत साउन १ देखि १५ गतेसम्मका कारोबारबाट १५ जना उपभोक्तालाई दैनिक एक–एक लाख रुपैयाँएक जनालाई बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ प्रदान गर्ने तयारी गरेको जनाएको छ।

पहिलो उपहार कार्यक्रम साउन १६ गते सार्वजनिक गर्ने योजना रहे पनि प्राविधिक तयारी पूरा नभएका कारण घोषणा केही दिन पछि सारिएको विभागले जनाएको छ। विभागले पहिलो उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारका बिल करदाता प्रोत्साहन पोर्टलमा प्रविष्ट गर्न उपभोक्तालाई आग्रह गरेको छ।

चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रम घोषणा गरेका थिए। कार्यक्रमअन्तर्गत एक सय रुपैयाँ वा सोभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्ने व्यवस्था छ। सरकारले दैनिक एक जनालाई करकट्टीपछि एक लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जनालाई बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor