अवैध भीओआईपी सञ्चालन गरेको आरोपमा काठमाडौं र भक्तपुरबाट चार जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०८३, सोमबार ०५:४३

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार अवैध रूपमा दूरसञ्चार सेवा सञ्चालन गरी राजस्व चुहावट भइरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौं बस्ने २२ वर्षीय प्रोशेष गुरुङ, काठमाडौंकी २० वर्षीया मुना श्रेष्ठ, कञ्चनपुर घर भई भक्तपुर बस्ने २१ वर्षीय जेनित झुकाल र भक्तपुरका ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन्।

ब्यूरोका अनुसार पक्राउ परेकाहरूको डेराबाट भीओआईपी सञ्चालनमा प्रयोग हुने सिम बक्स, ल्यापटप, राउटर तथा सयौंको संख्यामा एनसेलका सिमकार्ड बरामद गरिएको छ। विशेषगरी जेनित झुकालको साथबाट पाँच थान सिम बक्स र १९३ थान सिमकार्ड बरामद भएको प्रहरीले जनाएको छ। कृष्ण नगरकोटी भने भीओआईपी सञ्चालनको तयारी गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त समूहले अन्तर्राष्ट्रिय कल बाइपासका साथै ‘NPR77casino.com’, ‘IME88.com’‘Khalti88.com’ नामका अनलाइन सट्टेबाजी वेबसाइटसँग सम्बन्धित गतिविधिमा समेत ती उपकरण र सिमकार्ड प्रयोग गरेको आशंका गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा अनुसन्धान जारी रहेको छ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक अनुप शमशेर जबराका अनुसार काठमाडौंबाट पक्राउ परेका दुई जनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिन र भक्तपुरबाट पक्राउ परेका दुई जनालाई जिल्ला अदालत भक्तपुरबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, घटनामा अन्य व्यक्तिको संलग्नता तथा सम्भावित अवैध कारोबारबारे पनि अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor