कांग्रेसभित्र विभाजनको संकेत : इतर समूहले नयाँ दल गठनको विकल्पमा गृहकार्य, राष्ट्रिय भेलाले गर्ने अन्तिम निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०८३, सोमबार ०५:२४

काठमाडौं ।  नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको संस्थापन र संस्थापनइतर समूहबीचको मतभेद अब नयाँ चरणमा प्रवेश गरेको छ। संस्थापनइतर समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने तयारीलाई तीव्र बनाएको छ भने नेतृत्वसँग सहमति नभए वैकल्पिक राजनीतिक बाटोबारे निर्णय गर्ने संकेत दिएको छ।

उच्च स्रोतका अनुसार संस्थापनइतर पक्षले नयाँ राजनीतिक दल दर्ताको सम्भावनासमेत आन्तरिक रूपमा छलफल गरिरहेको छ। स्रोतका अनुसार प्रस्तावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्नका रूपमा ‘शंख’ राख्ने विषयमा प्रारम्भिक गृहकार्य भएको बताइए पनि यसबारे कुनै औपचारिक निर्णय भइसकेको छैन। इतर पक्षका नेताहरूले अन्तिम निर्णय आगामी राष्ट्रिय कार्यकर्ता भेलाबाट हुने बताएका छन्।

इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। सोही भेलाको तयारीका लागि डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। साथै राजनीतिक प्रस्ताव, संगठन, विधान संशोधन, आर्थिक नीति, प्रचार–प्रसार, व्यवस्थापनलगायत १६ वटा विषयगत समिति पनि बनाइएको छ।

मूल आयोजक समितिमा १४औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्य, पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला पदाधिकारी तथा महानगर र नगर सभापतिहरूलाई समेटिएको छ। यसलाई इतर समूहले संगठनात्मक शक्ति प्रदर्शनका रूपमा अघि बढाएको विश्लेषण गरिएको छ।

कांग्रेसको इतिहाससँग जोडिएका प्रभावशाली नेताहरू पनि इतर समूहको अभियानमा सक्रिय छन्। डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह तथा पूर्वउपसभापति विमलेन्द्र निधिलगायतका नेताहरू वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

इतर समूहका नेताहरूका अनुसार वर्तमान नेतृत्वसँग राजनीतिक सहमतिको सम्भावना कमजोर बन्दै गएको छ। पूर्वउपसभापति विमलेन्द्र निधिले नयाँ पार्टी गठन वा संगठनको भावी स्वरूपबारे राष्ट्रिय भेलाले ठोस निर्णय गर्ने बताएका छन्।

नेता केदार कार्कीले पनि नेतृत्वबाट सहमतिको वातावरण नबने पार्टी र लोकतान्त्रिक शक्तिलाई जोगाउन नयाँ राजनीतिक बाटो रोज्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

उता संस्थापन पक्ष भने पार्टी विभाजनको सम्भावना कम रहेको दाबी गर्दै संवादमार्फत समाधान खोज्न सकिने बताइरहेको छ। महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले वैधानिकता प्राप्त गरिसकेको उल्लेख गर्दै अब सबै पक्षलाई समेटेर १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु नै पार्टीको प्राथमिकता रहेको बताएका छन्।

नेपाली कांग्रेसले २०१५ सालदेखि ‘रुख’ चुनाव चिह्नका साथ निर्वाचनमा भाग लिँदै आएको छ। यदि संस्थापनइतर समूहले अन्ततः नयाँ दल गठन गर्ने निर्णय गर्‍यो भने त्यो कांग्रेसको इतिहासकै महत्वपूर्ण राजनीतिक विभाजनमध्ये एक हुन सक्ने विश्लेषण गरिएको छ। यद्यपि, नयाँ दलको नाम, चुनाव चिह्न र नेतृत्वबारे अन्तिम निर्णय भने आगामी राष्ट्रिय कार्यकर्ता भेलापछि मात्रै औपचारिक रूपमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor