काठमाडौं । बिहान सबेरै र राति अबेर सडकमा हिँड्ने महिला तथा वृद्धालाई लक्षित गरी सुनको सिक्री लुटपाट गर्ने समूहका नाइके भनिएका कर्मा तामाङलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का ३४ वर्षीय तामाङ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका सिक्री लुटपाटका घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार तामाङ नेतृत्वको समूहले बाटो सोध्ने बहाना बनाएर महिलालाई लक्षित गर्ने र मौका पाउनेबित्तिकै घाँटीमा लगाएको सुनको सिक्री लुट्ने शैली अपनाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार गत असार १३ गते बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका–३१ शान्तिनगरमा तरकारी किन्न जाँदै गरेकी एक महिलालाई मोटरसाइकलमा आएका दुई व्यक्तिले ‘पेप्सीकोला जाने बाटो कता हो?’ भन्दै सोधेका थिए।
महिलाले बाटो बताएपछि केही अगाडि गएका उनीहरू पुनः फर्किएका थिए। त्यसपछि मोटरसाइकलको पछाडि बसेका व्यक्तिले महिलालाई लडाएर घाँटीमा लगाएको करिब दुई दशमलव पाँच तोलाको सुनको सिक्री लुटेर फरार भएको प्रहरीले जनाएको छ।
यस्तै प्रकृतिका घटना असार १५ गते काठमाडौंको नरेफाँट र काभ्रेपलाञ्चोकको धुलिखेल तथा साउन ७ गते काठमाडौं महानगरपालिका–६ धापासी हाइटमा पनि भएको प्रहरीको भनाइ छ।
प्रहरीले विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी फुटेज, घटनाको शैली र विगतका आपराधिक गतिविधिको विवरण विश्लेषण गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार अनुसन्धानका क्रममा ती लुटपाटका घटनामा कर्मा तामाङ समूहको संलग्नता रहेको प्रारम्भिक निष्कर्ष निकालिएको हो।
प्रहरीका अनुसार समूहका केही सदस्य पक्राउ परेपछि कर्माको सम्भावित बसोबास तथा आवतजावतका स्थान पहिचान गरी निगरानी बढाइएको थियो।
प्रहरीका अनुसार लुटपाटको योजनासहित काठमाडौं आएका तामाङ शनिबार राति करिब १०ः२५ बजे बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल क्षेत्रमा प्रहरीको सम्पर्कमा आएका थिए।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरिएको जनाएको छ। प्रहरीका अनुसार त्यस क्रममा तामाङले खुकुरी प्रहार गर्न खोजेपछि घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो।
घाइते तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले तामाङ समूहका सदस्य भनिएका काभ्रेपलाञ्चोकका ३० वर्षीय प्रतिमान गोले, ३० वर्षीय पासाङ घिसिङ, ३६ वर्षीय मनोज तामाङ र कास्कीका २९ वर्षीय आले गुरुङलाई साउन १५ गते बनेपाबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार समूहले लुटपाटका लागि मोटरसाइकल चोरी गर्ने, नम्बर प्लेट परिवर्तन गर्ने र घटनापछि ती मोटरसाइकल उपत्यकाबाहिर लगेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
कर्मा तामाङको साथबाट एक थान मोटरसाइकल, एक थान खुकुरी, पाँच थान मोटरसाइकल नम्बर प्लेट तथा चोरीमा प्रयोग हुने औजार बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कर्मा तामाङ यसअघि पनि चोरी तथा डाँकासम्बन्धी घटनामा पक्राउ परिसकेका व्यक्ति हुन्। उनीविरुद्ध विभिन्न समयमा नौ वटा चोरी तथा डाँका मुद्दा दर्ता भएको प्रहरी विवरणमा उल्लेख छ।
त्यस्तै, प्रतिमान गोले यसअघि कारागारबाट फरार भएको र पुनः पक्राउ परेको प्रहरीको भनाइ छ। पासाङ घिसिङले मोटरसाइकल चोरी गरी समूहलाई उपलब्ध गराउने गरेको तथा मनोज तामाङले चोरीका सुनका गरगहना गालेर स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको प्रहरीको दाबी छ।
प्रहरीले घटनाको शैली, प्रयोग भएका सवारीसाधन, सिसिटिभी फुटेज र पक्राउ परेका व्यक्तिहरूको विगतको विवरणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
बिहान सबेरै वा राति अबेर एक्लै हिँड्ने महिला तथा वृद्धालाई लक्षित गरी लुटपाट गर्ने शैली अपनाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र विगतका अन्य लुटपाटका घटनामा समेत उनीहरूको संलग्नता भए नभएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया