बुटवल । पश्चिम नवलपरासीको विवादित सीमा क्षेत्र सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको स्थानीयको दाबीपछि क्षेत्रमा तनाव उत्पन्न भएको छ।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब ३:३० बजे सादा पोसाक र हतियारसहित आएका करिब ७५ जना भारतीय एसएसबीका सदस्य नेपाली भूभागमा प्रवेश गरेका थिए। उनीहरूले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा स्थानीयवासीले निर्माण गरिरहेको १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काइदिएको आरोप छ।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार एसएसबी टोली दुई देशबीच सीमा मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेको थियो। उनका अनुसार स्थानीयले रोक्ने प्रयास गरे पनि हतियारसहित ठूलो संख्यामा आएका सुरक्षाकर्मीका कारण प्रतिरोध गर्न सकेनन्।
यसअघि पनि गत असारमा भारतीय सुरक्षाकर्मीले सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माण कार्य रोक्न दबाब दिएको स्थानीयको भनाइ छ, जसका कारण निर्माण केही समयका लागि रोकिएको थियो।
सुस्ता नेपाल–भारतबीचको लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा परिचित छ। स्थानीय मुन्ना खाँका अनुसार स्पष्ट सीमा स्तम्भको अभाव, नारायणी नदीको धार परिवर्तन तथा सीमासम्बन्धी विवादका कारण यस क्षेत्रमा बेला–बेलामा तनाव र विवाद दोहोरिने गरेको छ।
घटनापछि सम्भावित झडप वा अप्रिय अवस्था रोक्न नेपालतर्फबाट सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालन गरिएको बताइएको छ।
यस घटनाबारे भारतीय पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। साथै, नेपाली सुरक्षा निकाय वा सरकारले घटनाबारे औपचारिक पुष्टि वा विस्तृत धारणा सार्वजनिक गरेपछि थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया