काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन कर्मचारी र दुई लेखापढी व्यवसायीलाई ३ लाख रुपैयाँ घुस लिएको आरोपमा रंगेहात पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी (लेखन्दास) शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन्।
अख्तियारका अनुसार उनीहरूले मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने भन्दै सेवाग्राहीसँग घुस माग्दै दुःख–हैरानी दिएका थिए। सेवाग्राहीबाट ३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट रंगेहात पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूको साथबाट घुसबापत लिइएको ३ लाख रुपैयाँका साथै स्रोत खुल्न नसकेको २४ हजार ८९० रुपैयाँसमेत बरामद गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया