काठमाडौं । “स्वच्छ वातावरण, हरियालीयुक्त परिसर र स्वस्थ जीवन” भन्ने मूल भावनालाई आत्मसात् गर्दै नेपाल एपिएफ अस्पताल परिसरमा रोटरी क्लब अफ काठमाडौं डाउनटाउनको आयोजनामा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा अस्पताल परिवार, रोटरी क्लबका प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल सशस्त्र प्रहरी बल वरिष्ठ उपरीक्षक डा रोश्शु थापा उपस्थित हुनु भएको थियो भने रोटरी क्लब अफ काठमाडौं डाउनटाउनका अध्यक्ष अनोज पौडेल, चार्टर प्रेसिडेन्ट श्याम पराजुली,पुर्व अध्यक्षहरु लोक बहादुर टण्डन तथा राजकुमार बैदावार एवं प्रतिनिधिहरू, कार्यक्रमका संयोजक अवकाशप्राप्त सशस्त्र प्रहरी उपरीक्षक शम्भु उप्रेती, अस्पतालमा कार्यरत सिनियर अधिकृतहरू, चिकित्सकहरू, स्वास्थ्यकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत तथा सम्मान व्यक्त गरिएको थियो भने बौद्धिक व्यक्तित्वहरुको गरिमामय उपस्थितिले वातावरणमैत्री अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको थियो ।
कार्यक्रममा वक्ताहरूले वृक्षारोपण एउटा बिरुवा रोप्ने कार्य मात्र नभई प्रकृति संरक्षण, वातावरणीय सन्तुलन, स्वच्छ हावा, स्वस्थ जीवन तथा भावी पुस्ताप्रतिको हाम्रो दायित्वको प्रतीक भएको उल्लेख गर्नु भयो । विशेषगरी स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको परिसर हरियालीयुक्त, स्वच्छ र वातावरणमैत्री हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै स्वच्छ वातावरणले स्वस्थ मन र स्वस्थ जीवन निर्माणमा महत्वपूर्ण योगदान र्पुयाउने विश्वास व्यक्त गरिएको थियो ।
यसै अवसरमा कार्यक्रमको महत्वपूर्ण चरणअन्तर्गत प्रमुख अतिथिलाई वृक्षारोपणका लागि बिरुवा हस्तान्तरण गरिएको थियो । “एउटा बिरुवा–एउटा जिम्मेवारी, एउटा वृक्ष–स्वस्थ भविष्यको आधार” भन्ने सन्देशका साथ प्रमुख अतिथि डा. रोश्शु थापाले नेपाल एपिएफ अस्पताल परिसरमा वृक्षारोपण गरी वातावरण संरक्षणप्रतिको सामूहिक प्रतिबद्धतालाई अझ सशक्त बनाउनु भएको थियो ।
रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले योबर्ष सन्चालन गरेको १ लाख बिरुवा रोप्ने अभियान अन्तरगत यो कार्यक्रम भएको रोटरी क्लब अफ काठमाडौं डाउनटाउनका सकृय सदस्य तथा आजको वृक्षारोपण कार्यक्रमका संयोजक अवकाशप्राप्त सशस्त्र प्रहरी उपरीक्षक शम्भु उप्रेतीले जानकारी गराउनु भयो ।
आयोजकका अनुसार आज रोपिएको बिरुवा,एउटा बिरुवा मात्र नभई स्वच्छ वातावरण र स्वस्थ भविष्यप्रतिको साझा प्रतिबद्धताको प्रतीक हो । वृक्षारोपणलाई औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र हुर्काउने दायित्व पूरा गर्नु नै अभियानको वास्तविक सफलता हुने धारणा कार्यक्रममा जोडदार रूपमा राखिएको थियो ।
वक्ताहरूले हरियो अस्पताल परिसर, स्वच्छ वातावरण र स्वस्थ समाज निर्माणमा साना प्रयासले पनि ठूलो योगदान र्पुयाउन सक्ने उल्लेख गर्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई वृक्षारोपण अभियानलाई निरन्तर सहयोग, संरक्षण र प्रवद्र्धन गर्न हार्दिक अनुरोध गरेका थिए । सामूहिक वृक्षारोपण तथा सहभागितामार्फत वातावरण संरक्षणको अभियानलाई जनस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो।
कार्यक्रमको समापनका क्रममा आयोजकले रोटरी क्लब अफ काठमाडौं डाउनटाउन नेपालप्रति विशेष आभार व्यक्त गर्दै नेपाल एपिएफ अस्पताल परिवार, प्रमुख अतिथि, रोटरी क्लबका प्रतिनिधि, आजका कार्यक्रमका संयोजक अवकाशप्राप्त सशस्त्र प्रहरी उपरीक्षक शम्भु उप्रेती, अस्पतालका सिनियर अधिकृतहरू, चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण सहभागीप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
समापन मन्तव्यमा “वृक्षारोपण आजको कार्यक्रम मात्र होइन, यो निरन्तर चलिरहने अभियान हो” भन्ने सन्देश दिँदै आज रोपिएका बिरुवाको संरक्षण गरी हुर्काउनु नै कार्यक्रमको वास्तविक सफलता हुने विश्वास व्यक्त गरिएको थियो ।
अन्त्यमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई वातावरण संरक्षणको अभियानलाई सफल बनाउन निरन्तर साथ, सहयोग र सहभागिताका लागि हार्दिक अनुरोध गर्दै कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया