काठमाडौं । नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सहमहामन्त्री तथा दुई कार्यकाल केन्द्रीय सदस्य रहेकी सिर्जना अधिकारीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन्।
अधिकारीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य महिला खुलातर्फ आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी हुन्। विद्यार्थी राजनीतिदेखि लोकतान्त्रिक आन्दोलन, महिला अधिकार, सामाजिक न्याय तथा सशक्तीकरणका क्षेत्रमा सक्रिय रहँदै आएको अनुभवलाई पार्टीको केन्द्रीय नेतृत्वमा थप प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको उनले बताएकी छन्।
राजनीतिक यात्राको प्रारम्भ नेपाल विद्यार्थी संघबाट गरेकी अधिकारीले संघमा दुई कार्यकाल केन्द्रीय सदस्य तथा केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। २०६२/६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परी जेल जीवनसमेत बिताएकी अधिकारी आन्दोलनका क्रममा घाइतेसमेत भएकी थिइन्।
लोकतान्त्रिक आन्दोलनमा आफूले भोगेको संघर्षलाई राजनीतिक जीवनको महत्वपूर्ण अनुभवका रूपमा लिँदै अधिकारीले पार्टीको संगठन निर्माणमा त्यसलाई उपयोग गर्ने बताएकी छन्।
“विद्यार्थी आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनसम्म मैले संघर्ष, संगठन र नेतृत्वलाई नजिकबाट अनुभव गरेकी छु। त्यो अनुभवलाई अब नेपाली कांग्रेसको संगठन सुदृढीकरण, नयाँ पुस्ताको राजनीतिक सहभागिता र समावेशी नेतृत्व निर्माणमा प्रभावकारी रूपमा उपयोग गर्न चाहन्छु,” अधिकारीले भनिन्।
अधिकारी दुई पटक निर्वाचित महासमिति सदस्यसमेत हुन्। उनले संविधानसभाका दुवै निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवारका रूपमा समेत सहभागिता जनाएकी थिइन्।
राजनीतिसँगै महिला अधिकार, महिला समानता, महिला मैत्री संविधान तथा कानुन निर्माण, सामाजिक न्याय र सशक्तीकरणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी अधिकारीले वुमन एक्टमार्फत महिला तथा सामाजिक क्षेत्रमा विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आएकी छन्।
महिलाको राजनीतिक सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै आएकी अधिकारीले पार्टीभित्र पनि महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
“महिलालाई केवल सहभागिताका लागि होइन, निर्णय गर्ने तहमा अर्थपूर्ण उपस्थितिका लागि अवसर दिनुपर्छ। नेपाली कांग्रेसलाई समयअनुकूल, समावेशी र जनतासँग प्रत्यक्ष जोडिएको संगठनका रूपमा अघि बढाउन महिला नेतृत्वको भूमिका अझ बलियो बनाउन आवश्यक छ,” उनले भनिन्।
दुई दशकभन्दा लामो राजनीतिक तथा सामाजिक सक्रियतालाई आफ्नो उम्मेदवारीको आधार बनाउँदै अधिकारीले पार्टीभित्रको संगठनात्मक अनुभव, लोकतान्त्रिक आन्दोलनको संघर्ष र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई अब कांग्रेसको केन्द्रीय नेतृत्वमा उपयोग गर्न चाहेको बताइन्।
उनका अनुसार नेपाली कांग्रेसको संगठनलाई अझ व्यवस्थित र सुदृढ बनाउने, कार्यकर्ताको भावना र जनताको अपेक्षाबीचको सम्बन्धलाई बलियो बनाउने तथा पार्टी नेतृत्वमा समावेशी सहभागिता बढाउने विषय आफ्नो प्राथमिकतामा रहनेछ।
“नेपाली कांग्रेसलाई अझ बलियो, गतिशील र जनतासँग जोडिएको पार्टी बनाउन संगठनको तल्लो तहदेखि केन्द्रसम्म प्रभावकारी समन्वय आवश्यक छ। मेरो उम्मेदवारी व्यक्तिगत अवसरका लागि मात्र होइन, लामो समयदेखि पार्टी र लोकतान्त्रिक आन्दोलनमा जोडिएका अनुभवलाई संगठन निर्माणमा लगाउने उद्देश्यले हो,” अधिकारीले भनिन्।
उनले आफूले हासिल गरेको राजनीतिक तथा सामाजिक अनुभवलाई आगामी दिनमा पार्टी संगठन, महिला सशक्तीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रको पक्षमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
“मेरो राजनीतिक जीवन संघर्षबाट निर्माण भएको हो। पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै आएकी छु। अब पनि नेपाली कांग्रेसको सुदृढ संगठन, समावेशी नेतृत्व र समृद्ध नेपालको अभियानमा आफ्नो अनुभव, प्रतिबद्धता र ऊर्जा समर्पित गर्नेछु,” अधिकारीले भनिन्।
नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा महिला सहभागिता र समावेशी प्रतिनिधित्वको बहस चलिरहेका बेला लामो समय विद्यार्थी राजनीति, लोकतान्त्रिक आन्दोलन तथा सामाजिक अभियानमा सक्रिय अधिकारीको उम्मेदवारीले महिला खुलातर्फको प्रतिस्पर्धालाई थप विस्तार गरेको छ। विगतका कांग्रेस महाधिवेशनमा पनि महिला खुलातर्फ केन्द्रीय सदस्य पदमा ठूलो संख्यामा उम्मेदवारी पर्ने गरेको देखिन्छ।
प्रतिक्रिया