काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) ले यस वर्षको ‘नोजा पत्रकारिता सम्मान’ तथा ‘नोजा अनर अवार्ड’ पत्रकार सामना देवकोटालाई प्रदान गरेको छ । नोजाले हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गर्दै आएको ११ हजार १११ रुपैयाँ राशिको उक्त सम्मान यस वर्ष देवकोटालाई प्रदान गरिएको हो ।
पत्रकारिताको क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै समाचार लेखन तथा सञ्चारका माध्यमबाट योगदान पुर्याउँदै आएकी देवकोटालाई उनको निरन्तरता, सक्रियता र पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको नोजाले जनाएको छ ।
देवकोटा विगत १५ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहेर कलम चलाउँदै आएकी छन् । हाल अमेरिकामा रहेकी उनी ‘समाज प्रेस’ मा सह–सम्पादकका रूपमा कार्यरत रहेर नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्याइरहेकी छन् । नेपालबाट टाढा रहेर पनि नेपाली पत्रकारिता र सञ्चार क्षेत्रसँगको आफ्नो सम्बन्धलाई निरन्तरता दिँदै उनले पत्रकारितालाई आफ्नो पेशा र जिम्मेवारीका रूपमा अगाडि बढाउँदै आएकी छन् ।
नोजाको बाह्रौँ अनर अवार्डअन्तर्गत विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने क्रममा देवकोटालाई पत्रकारिता क्षेत्रको सम्मान प्रदान गरिएको हो ।
राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगानाले पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकारलाई सम्मान गर्नु नोजाको महत्वपूर्ण उद्देश्य रहेको बताए ।
अध्यक्ष ढुंगानाले भने, “पत्रकारिता केवल पेशा मात्र होइन, समाजलाई सूचना, विचार र सत्यतथ्यसँग जोड्ने महत्वपूर्ण जिम्मेवारी पनि हो । सामना देवकोटाले विगत १५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय भएर आफ्नो कलममार्फत योगदान पुर्याउँदै आउनुभएको छ । नेपालमा रहँदा होस् वा अमेरिकामा रहेर, उहाँले पत्रकारितासँगको आफ्नो सम्बन्धलाई निरन्तरता दिनुभएको छ । त्यसको सम्मानस्वरूप नोजा पत्रकारिता सम्मान प्रदान गरेका हौँ ।”
उनले विदेशमा रहेर पनि नेपाली सञ्चार क्षेत्रमा निरन्तर सक्रिय पत्रकारहरूको योगदानलाई प्रोत्साहन र सम्मान गर्नुपर्नेमा जोड दिँदै नोजाले आगामी दिनमा पनि पत्रकारहरूको योगदानलाई प्राथमिकताका साथ सम्मान गर्दै जाने बताए ।
सम्मान ग्रहण गर्दै पत्रकार सामना देवकोटाले नोजाले आफ्नो पत्रकारिता यात्राको योगदानलाई मूल्यांकन गरेर सम्मान गरेकोमा अत्यन्तै आभार व्यक्त गरिन् ।
देवकोटाले भनिन्, “विगत १५ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा रहेर कलम चलाउँदै आएकी छु । पत्रकारिता मेरो लागि पेशा मात्र नभई समाजसँग जोडिने माध्यम पनि हो । अमेरिकामा रहेर पनि नेपाली पत्रकारितालाई निरन्तरता दिँदै हाल समाज प्रेसमा सह–सम्पादकका रूपमा काम गरिरहेकी छु । मेरो पत्रकारिता यात्रालाई सम्मान गर्दै नोजाले प्रदान गरेको यो सम्मानले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको छ ।”
उनले नोजा तथा सम्मान प्रदान गर्ने सम्पूर्ण आयोजकप्रति आभार व्यक्त गर्दै पत्रकारिताको क्षेत्रमा अझ सक्रिय भएर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।
नोजाले हरेक वर्ष पत्रकारिता, सञ्चार, शिक्षा, स्वास्थ्य, कला, साहित्य, व्यवसाय, सामाजिक सेवा, उद्यमशीलता लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि नोजाको बाह्रौँ अनर अवार्डअन्तर्गत विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नोजाका अध्यक्ष मुकुन्द ढुंगाना, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली, आईटी विज्ञ हरिराम रिमाल, वरिष्ठ पत्रकार राजेन्द्र लुईटेल, महिला उद्यमी सरिता भट्टराई लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया