भारतको अनुदानमा झापासम्म पेट्रोलियम पाइपलाइन निर्माण हुने, सर्लाहीमा ग्यास पाइपलाइनको अध्ययन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०८३, मंगलवार ०८:०७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पश्चिम बंगालस्थित सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म निर्माण हुने ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन्। नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा दुवै प्रधानमन्त्रीले परियोजनाको शिलान्यास गरेका हुन्।

नेपाल–भारतबीच निर्माण हुन लागेको यो दोस्रो सीमापार पेट्रोलियम पाइपलाइन हो। यसअघि मोतीहारी–अमलेखगन्ज पाइपलाइन निर्माण भई सञ्चालनमा आइसकेको छ। झापाको चारआलीस्थित २३ बिघा तीन कट्ठा १३ धुर जग्गामा परियोजनाको पूर्वाधार निर्माणका लागि तयारी गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए।

साहका अनुसार परियोजनाको अनुमानित लागत ११ अर्ब १४ करोड रुपैयाँ रहेको छ। सम्पूर्ण लागत भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराउनेछ। यसमध्ये पाइपलाइन निर्माणमा करिब चार अर्ब २७ करोड र भण्डारण गृहसहितको ग्रिनफिल्ड टर्मिनल निर्माणमा छ अर्ब ८७ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

कुल ५० किलोमिटरमध्ये भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर पाइपलाइन बिछ्याइनेछ। आठ इन्च गोलाइको पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटरभन्दा बढी इन्धन ढुवानी गर्न सकिनेछ। एउटै पाइपलाइनबाट पेट्रोल र डिजेल दुवै ल्याउन मिल्ने संरचना निर्माण हुनेछ।

चारआलीमा कुल १८ हजार नौ सय किलोलिटर क्षमताको इन्धन भण्डारण गृह पनि बनाइनेछ। पेट्रोलका लागि दुई हजार दुई सय किलोलिटर क्षमताका तीनवटा र डिजेलका लागि चार हजार एक सय किलोलिटर क्षमताका तीनवटा भर्टिकल ट्यांक निर्माण गरिने साहले बताए।

डिपोमा एकैपटक २० भन्दा बढी ट्यांकरबाट इन्धन लोड तथा अनलोड गर्न सकिनेछ। आधुनिक प्रयोगशाला र स्वचालित इन्धन लोडिङ प्रणालीसमेत जडान गरिनेछ। निगमका अनुसार यसबाट इन्धन चुहावट नियन्त्रण, ढुवानी खर्च बचत र वातावरणीय प्रदूषण न्यूनीकरणमा सहयोग पुग्नेछ। झापामा निर्माण हुने पूर्वाधारबाट कोशी प्रदेशका साथै मधेश प्रदेशका सिराहा र सप्तरीसम्म इन्धन वितरण गर्न सकिनेछ।

परियोजना निर्माण सुरु भएको ५४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर, भारतीय आयल कर्पोरेसन (आइओसी)ले ३६ महिनाभित्रै निर्माण पूरा गर्ने जानकारी दिएको साहले बताए। परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनको करिब ३० प्रतिशत र पर्खाल निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको छ। जग्गा सम्याउने र पर्खाल निर्माण पूरा भएपछि आयल निगमले आइओसीलाई निर्माणस्थल हस्तान्तरण गर्नेछ। आइओसीले पाइपलाइन र भण्डारण गृह निर्माणका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ।

अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणका पूर्वाधार पनि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा हस्तान्तरण गरिएको छ।

दोस्रो चरणअन्तर्गत चार हजार एक सय किलोलिटर क्षमताका दुईवटा पेट्रोल भण्डारण गृह, २४ वटा लोडिङ–अनलोडिङ प्वाइन्ट, आधुनिक प्रयोगशाला र स्वचालित प्रणालीबाट इन्धन लोड तथा अनलोड गर्न मिल्ने संरचना निर्माण गरिएको अमलेखगन्ज डिपो प्रमुख अशोक साहले जानकारी दिए।

दोस्रो चरणका पूर्वाधार २०८१ असोजमै सम्पन्न भएका थिए। त्यसपछि पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टीतेल आयात भइरहेको छ। यसअघि २०७५ सालदेखि पाइपलाइनमार्फत डिजेल आयात हुँदै आएको थियो।

भारतको दुई अर्ब भारुभन्दा बढी अनुदान तथा प्राविधिक सहयोगमा निर्माण भएको मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट नेपालको कुल इन्धन खपतको करिब ७० प्रतिशत आपूर्ति हुने गरेको छ।

सर्लाहीमा ग्यास पाइपलाइन निर्माणको सम्भाव्यता अध्ययन हुने

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपालमा ग्यास पाइपलाइन निर्माणको सम्भाव्यता अध्ययन गर्ने सहमति पनि भएको छ। नेपालमा ग्यास आपूर्ति सहज बनाउन सर्लाहीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्ने प्रस्तावमा भारतीय प्रधानमन्त्री मोदी सकारात्मक देखिएका छन्।

दुई देशका प्रधानमन्त्रीको भेटपछि जारी संयुक्त वक्तव्यको बुँदा नम्बर १६ मा भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भाव्यताको अध्ययन गर्न सहमति भएको उल्लेख छ।

नेपाल आयल निगमले सर्लाहीमा खरिद गरेको १५ बिघा जग्गामा ग्यास पाइपलाइनसहितको भण्डारण गृह निर्माण गर्ने प्रस्ताव यसअघि नै भारतसमक्ष पठाएको थियो। निगम र आइओसीका अधिकारी सम्मिलित संयुक्त कार्यदलले पनि यसबारे आवश्यक गृहकार्य गरिरहेको छ।

निगमको एलपीजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायका अनुसार सर्लाहीमा कम्तीमा एक महिनाको माग धान्न सक्ने ५० हजार टन क्षमताको ग्यास भण्डारण गृह निर्माण गर्ने प्रस्ताव गरिएको छ। त्यसैका आधारमा संयुक्त कार्यदलमा लागतलगायतका विषयमा छलफल भइरहेको उनले बताए।

हाल नेपालमा भारतका हल्दिया, बन्थरा, पारादीप, बरौनी, मथुरा र दुर्गापुर रिफाइनरीबाट बुलेटमार्फत ग्यास आयात हुँदै आएको छ। यी रिफाइनरी नेपालका ग्यास उद्योगबाट पाँच सयदेखि १२ सय किलोमिटरसम्म टाढा छन्। यसले ढुवानी लागत र समय बढाउनुका साथै आपूर्तिमा समस्या सिर्जना गर्ने गरेको छ।

आइओसीको मोतीहारीसम्म पाइपलाइनमार्फत ग्यास आयात भइरहेको अवस्थामा त्यहाँबाट सर्लाहीसम्म पाइपलाइन विस्तार गर्न सके देशभर ग्यास आपूर्ति सहज हुने निगमको अपेक्षा छ। प्रस्तावित आयोजना अघि बढेमा ग्यास ढुवानीमा लाग्ने समय र खर्च घट्नुका साथै भविष्यमा देखिन सक्ने आपूर्ति असहजता कम गर्न सहयोग पुग्नेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor