काठमाडौं । देशभर चिसो बढ्दै जाँदा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पनि घट्ने क्रम जारी छ। मंगलबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मंगलबार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौंको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस रेकर्ड गरिएको हो। यसअघि आइतबार ८.३ र सोमबार ८ डिग्री सेल्सियस मापन गरिएको थियो।
महाशाखाका अनुसार बिहान ५:४५ बजेको मापन प्रारम्भिक भएकाले आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुनः मापन गरेपछि मात्रै निश्चित हुन्छ। त्यसबेलासम्म तापक्रम थप घट्न सक्ने वा प्रारम्भिक मापनकै अवस्थामा रहन सक्नेछ।
महाशाखाले दैनिक बिहान ८:४५ बजे न्यूनतम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन गर्दै आएको छ। यसअघि सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ७.६ डिग्री सेल्सियससम्म झरेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया