सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित हिमाल, हिमनदी र पदयात्राका लागि विश्वप्रसिद्ध सोलुखुम्बुको आकाश पछिल्लो एक दशकयता हेलिकप्टर उडानको व्यस्त क्षेत्र बनेको छ। उद्धार, पर्यटक ओसारपसार, हिमाली दृश्यावलोकन र पर्वतारोहणका लागि दैनिक ठूलो सङ्ख्यामा हेलिकप्टर सञ्चालन हुने गरेका छन्। तर बढ्दो हवाई चहलपहलसँगै उडान तथा अवतरण सुरक्षाको जोखिम पनि बढ्दै गएको छ।
पछिल्लो एक दशकमा जिल्लाका विभिन्न क्षेत्रमा भएका हेलिकप्टर दुर्घटनाले यो जोखिमलाई उजागर गरेका छन्। दुर्घटनामा मानवीय क्षति, चालकको मृत्यु, यात्रु घाइते तथा हेलिकप्टर पूर्णरूपमा क्षतिग्रस्त भएका घटना छन्। कतिपय घटनामा प्राविधिक समस्या, प्रतिकूल मौसम, अवतरणस्थलको अवस्था तथा मानवीय र व्यवस्थापकीय कमजोरी देखिएका छन्।
पछिल्लो पटक गत कात्तिक १७ गते खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरणका क्रममा एकापसमा ठोक्किएका थिए। बिहान करिब ८ बजेर १२ मिनेटमा भएको दुर्घटनामा एक भारतीय पर्यटकको मृत्यु भएको थियो भने न्युजिल्यान्डका एक यात्रु र दुवै हेलिकप्टरका चालक घाइते भएका थिए।
फेरुचे क्षेत्र लुक्ला विमानस्थलको हवाई ट्राफिक नियन्त्रणको प्रत्यक्ष सञ्चार पहुँचबाहिर पर्ने भएकाले त्यहाँ उडान तथा अवतरण गर्दा चालकबीच आपसी समन्वय महत्त्वपूर्ण हुन्छ। तर दुर्घटनाको वास्तविक कारण आधिकारिक अनुसन्धानबाट मात्रै पुष्टि हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले बताए।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अभिलेखअनुसार २०७३ देखि २०८३ कात्तिकसम्म जिल्लामा पाँच प्रमुख हेलिकप्टर दुर्घटना तथा गम्भीर घटना भएका छन्।
२०७३ असोज ९ गते जुभिङस्थित बुक्सामा माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो। बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेन्डमै इन्जिन बन्द भएपछि चालकले आकस्मिक अवतरण गराएका थिए। हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगे पनि छ जना सकुशल रहेका थिए।
२०७९ असार २६ गते मनाङ एयरको ९एन–एएमभी कलसाइनको हेलिकप्टर लामजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भयो। चालक क्याप्टेन चेतबहादुर गुरुङसहित पाँच मेक्सिकन नागरिक सवार हेलिकप्टर दुर्घटनामा सबै छ जनाको मृत्यु भएको थियो। प्रारम्भिक विवरणमा प्रतिकूल मौसमलाई सम्भावित कारण मानिएको थियो।
२०७९ असोज २७ गते लोबुचेमा मनाङ एयरकै ९एन–एएनजे कलसाइनको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको थियो। हेलिकप्टरमा चालक प्रकाशकुमार सेढाईं मात्रै सवार थिए। दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो। गम्भीर घाइते चालकलाई उपचारका लागि भारत लगिए पनि उनको मृत्यु भयो।
२०८२ कात्तिक १२ गते लोबुचे हेलिप्याडमा अल्टिच्युड एयरको हेलिकप्टर हिउँले ढाकिएको क्षेत्रमा अवतरण गर्ने क्रममा चिप्लिएर पल्टिएको थियो। चालक सकुशल रहे पनि हेलिकप्टरमा ठूलो क्षति पुगेको थियो।
२०८३ कात्तिक १७ गते फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु र तीन जना घाइते भए। एउटै हेलिप्याडमा एकभन्दा बढी हेलिकप्टरको आवागमन व्यवस्थापन, सञ्चार समन्वय र अवतरण प्राथमिकताबारे यस घटनाले प्रश्न उठाएको पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको भनाइ छ।
हिमाली भूगोलमा हेलिकप्टर उडान आफैँमा चुनौतीपूर्ण मानिन्छ। अग्ला हिमाल, साँघुरा उपत्यका, छिटो परिवर्तन हुने मौसम, तीव्र हावा, हिमपात, कुहिरो र सीमित अवतरण क्षेत्रले उडान जोखिमपूर्ण बनाउँछन्। तर सबै दुर्घटनाको कारण मौसम मात्रै हो भन्न नमिल्ने तथ्य सरकारी अनुसन्धान प्रतिवेदनले पनि देखाएको छ।
लोबुचेमा सन् २०२५ अक्टोबर २९ मा भएको दुर्घटनाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको दुर्घटना अनुसन्धान निकायले २०२६ मार्च २३ मा सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार हेलिकप्टरमा प्राविधिक खराबी थिएन। हेलिकप्टर उडानयोग्य अवस्थामा थियो र नियमित मर्मतसम्भार पनि गरिएको थियो।
प्रतिवेदनले हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्दा हेलिकप्टरको स्किड असन्तुलित हुनु र त्यसलाई मिलाउने क्रममा चालकबाट आवश्यकताभन्दा बढी नियन्त्रण प्रतिक्रिया आउनुलाई दुर्घटनाको प्रमुख कारण मानेको छ।
लुक्लास्थित कम्पनीको सञ्चालन व्यवस्थापनमा पनि कमजोरी देखाइएको छ। व्यस्त मौसममा जिम्मेवार कर्मचारी उपस्थित नहुनु, उडानपूर्व जोखिम मूल्याङ्कन व्यवस्थित नहुनु तथा चालकलाई मौसम र अवतरणस्थलको पर्याप्त जानकारी नदिनु दुर्घटनाका सहायक कारण रहेको प्रतिवेदनमा उल्लेख छ। लोबुचेमा मौसम मापन केन्द्र नहुनु र लुक्लाको हवाई ट्राफिक सेवा केन्द्रसँग प्रत्यक्ष रेडियो सञ्चार पहुँच नहुनुलाई पनि प्रतिवेदनले औँल्याएको छ।
सोलुखुम्बुका दुर्घटनाले नागरिक उड्डयन प्राधिकरणको नियमन तथा अनुगमन प्रणालीमाथि पनि प्रश्न उठाएका छन्। विशेषगरी लुक्लाभन्दा माथिका फेरुचे, लोबुचे, गोरक्सेप र कालापत्थरलगायत क्षेत्रमा सबै स्थानमा हवाई ट्राफिक नियन्त्रणको प्रभावकारी व्यवस्था छैन। कतिपय ठाउँमा चालकहरूले एकअर्कासँग सञ्चार गरेर उडान तथा अवतरण समन्वय गर्नुपर्ने अवस्था रहेको चालकहरू बताउँछन्।
यस्तो अवस्थामा प्रत्येक हेलिकप्टरले आफ्नो स्थान, उडान दिशा, अवतरण समय र अन्य हेलिकप्टरको गतिविधिबारे स्पष्ट जानकारी राख्नुपर्छ। एउटै क्षेत्रमा धेरै हेलिकप्टर सञ्चालन हुँदा प्रभावकारी सञ्चार र समन्वयको अभावले दुर्घटनाको जोखिम बढाउन सक्छ।
लोबुचे दुर्घटनाको अन्तिम प्रतिवेदनले नौवटा सुरक्षा सिफारिस गरेको छ। व्यस्त मौसममा लुक्लाजस्ता आधार केन्द्रमा कम्पनीका जिम्मेवार सञ्चालन कर्मचारी अनिवार्य उपस्थित गराउने, उडानअघि जोखिम मूल्याङ्कन गर्ने, मौसम र अवतरणस्थलको अवस्थाबारे चालकलाई पर्याप्त जानकारी दिने तथा हेलिप्याडमा अवतरण सहयोगी कर्मचारी राख्ने विषय सिफारिसमा समेटिएका छन्।
त्यस्तै, नागरिक उड्डयन प्राधिकरणले उच्च हिमाली क्षेत्रमा प्रयोग हुने हेलिप्याडको प्राविधिक मूल्याङ्कन गर्नुपर्ने, स्पष्ट देखिने मानक सङ्केत राख्नुपर्ने र हिउँ तथा उच्च हिमाली भूभागमा हेलिकप्टर सञ्चालनका लागि विशेष निर्देशिका तयार गर्नुपर्ने सुझाव दिइएको छ।
सगरमाथा क्षेत्र नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। यहाँ आउने पर्यटकमध्ये कतिपय पदयात्रा गर्छन् भने कतिपय हेलिकप्टरमार्फत हिमाली दृश्यावलोकन तथा आवागमन गर्छन्। बिरामी र दुर्घटनामा परेका पर्यटकको उद्धारमा पनि हेलिकप्टरको भूमिका महत्त्वपूर्ण छ।
तर यस क्षेत्रमा हेलिकप्टर कम्पनीहरूको व्यावसायिक गतिविधि बढ्दै जाँदा सञ्चालन अनुशासन र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने पर्यटन व्यवसायी तेम्बा छिरी शेर्पा बताउँछन्।
उनले भने, “पर्यटकको समय बचत गर्ने, छिटो सेवा दिने र बढीभन्दा बढी उडान सञ्चालन गर्ने व्यावसायिक उद्देश्यले उडान सुरक्षाका मापदण्डलाई कमजोर बनाउनु हुँदैन। हिमाली क्षेत्रमा एउटा अतिरिक्त उडानबाट हुने आम्दानीभन्दा यात्रुको जीवनको मूल्य ठूलो हुन्छ।”
स्थानीय समुदायले पनि हेलिकप्टरको बढ्दो चापप्रति असन्तुष्टि जनाउँदै आएका छन्। हेलिकप्टरको आवाजले बस्ती, विद्यालय, वन्यजन्तु र राष्ट्रिय निकुञ्जको शान्त वातावरणमा असर परेको उनीहरूको गुनासो छ। पर्यटकलाई हेलिकप्टरबाटै ओसारपसार गर्दा स्थानीय गाइड, भरिया तथा पदयात्रासँग जोडिएका व्यवसायीको रोजगारीमा असर पर्ने चिन्ता पनि व्यक्त हुँदै आएको नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए।
यसैबीच, सगरमाथा राष्ट्रिय निकुञ्ज र स्थानीय तहले सन् २०२५ डिसेम्बरमा दृश्यावलोकनका लागि हुने हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए। उद्धार उडानलाई भने छुट दिइएको थियो। यसले पर्यटन विकास, स्थानीय अर्थतन्त्र र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखाएको छ।
नेपालको हिमाली पर्यटन अन्तर्राष्ट्रिय रूपमा परिचित छ। सगरमाथा क्षेत्रको आकर्षणले विश्वभरका पर्यटकलाई तानिरहेको छ। तर पर्यटकीय गन्तव्यको प्रतिष्ठा प्राकृतिक सुन्दरता र साहसिक अनुभवले मात्रै कायम हुँदैन। यातायात, उद्धार, स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको विश्वसनीयता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
एकपछि अर्को हेलिकप्टर दुर्घटना भइरहने र दुर्घटनापछि मात्रै सुधारका प्रतिबद्धता व्यक्त गरिने हो भने नेपालको हवाई सुरक्षा प्रणालीप्रति अन्तर्राष्ट्रिय विश्वास कमजोर हुन सक्ने पर्यटनविज्ञ आङछिरिङ शेर्पाको भनाइ छ। पर्वतारोही स्पीडकाजी शेर्पाले पनि यस विषयमा चिन्ता व्यक्त गरेका छन्।
नेपालमा सन् १९७९ यता कम्तीमा ४३ हेलिकप्टर दुर्घटना भएका र तीमध्ये २३ दुर्घटनामा मानवीय क्षति भएको विवरण छ। सरकारी तथ्याङ्कअनुसार सगरमाथा क्षेत्रमा मात्रै आठ हेलिकप्टर दुर्घटना भएका छन् भने पाँच घटनामा मानवीय क्षति भएको छ।
प्रतिक्रिया