काठमाडौं। भारतीय टेलिभिजन अभिनेत्री तथा ‘बिग बोस ११’ की विजेता शिल्पा शिन्देले निर्माता सञ्जय कोहलीविरुद्ध पैसा असुल गर्ने उद्देश्यले यौन दुर्व्यवहारको झुटो उजुरी दिएको स्वीकार गरेपछि उनी गम्भीर विवादमा परेकी छन्।
शिल्पाले हास्य कलाकार भारती सिंह र हर्ष लिम्बाचियाको पोडकास्टमा ‘भाभी जी घर पर हैं’ का निर्माता कोहलीविरुद्ध आफूले झुटो उजुरी दर्ता गराएको स्वीकार गरेकी थिइन्। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालदेखि मनोरञ्जन क्षेत्रमा व्यापक आलोचना सुरु भएको छ।
पुरुष अधिकारका लागि काम गर्ने संस्था ‘एनसीएम इन्डिया काउन्सिल फर मेन्स अफेयर्स’ ले मुम्बई प्रहरीसँग शिल्पाविरुद्ध कानुनी कारबाहीको माग गरेको छ। संस्थाले झुटो आरोप लगाएर कसैको प्रतिष्ठामा क्षति पुर्याएको भन्दै उनलाई पक्राउ गर्न आग्रह गरेको जनाएको छ।
यसैबीच, ‘बिग बोस’की पूर्व प्रतिस्पर्धी अभिनेत्री हिना खानले महिला हुनुको फाइदा उठाएर कसैको चरित्र हत्या गर्नु लज्जास्पद भएको टिप्पणी गरेकी छन्। उनले वास्तविक पीडितहरूका लागि यस्ता घटनाले न्यायप्रतिको विश्वास कमजोर बनाउने उल्लेख गरेकी छन्।
अभिनेत्री पूजा बेदीले पनि पीडितको सुरक्षाका लागि बनेका कानुनको व्यक्तिगत स्वार्थ वा बदलाका लागि दुरुपयोग गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने धारणा व्यक्त गरेकी छन्।
विवाद बढेपछि शिल्पाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफ्नो बचाउ गरेकी छन्। उनले तत्कालीन समयमा आफू गम्भीर मानसिक तनावमा रहेको र अत्यन्त कठिन परिस्थितिका कारण त्यस्तो कदम चाल्न पुगेको दाबी गरेकी छन्। साथै, विगत १० वर्षदेखि आफूले भोगेको पीडा सार्वजनिक गर्नु नै आफ्नो उद्देश्य रहेको पनि बताएकी छन्।
सन् २०१५ मा ‘भाभी जी घर पर हैं’ मा ‘अङ्गूरी भाभी’को भूमिकाबाट लोकप्रिय बनेकी शिल्पाले सन् २०१६ मा निर्माता सञ्जय कोहलीविरुद्ध आरोप लगाएपछि शो छोडेकी थिइन्। करिब नौ वर्षपछि उनी पुनः सोही शोमा फर्किएकी छन्।
प्रतिक्रिया