काठमाडौं। धनगढीमा बिहीबारदेखि अनसनरत डा. गोविन्द केसीले सरकारी पक्षसँग ७ बुँदे सहमति भएपछि आफ्नो अनसन तोडेका छन्।
डा. केसीका मागबारे वार्ता गर्न शनिबार काठमाडौंबाट सरकारी टोली धनगढी पुगेको थियो। दुवै पक्षबीच सहमति भएपछि डा. केसीले सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवाका रूपमा रहेका चक्रबहादुर धामीको हातबाट जुस पिएर अनसन अन्त्य गरेका हुन्। धामी बाजुराको गौमुल गाउँपालिका–२ निवासी हुन्। उनी सोही अस्पतालमा उपचाररत ८ वर्षीय सुदीप कोइरालाका भिनाजु हुन्।
सरकार र डा. केसी पक्षबीच भएको ७ बुँदे सहमतिमा कैलालीस्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) मा तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने विषयलाई प्रमुख प्राथमिकता दिइएको छ।
यस्तै, सहमतिपत्रमा स्वास्थ्य सेवाको सुधार, चिकित्सा शिक्षा ऐनको पूर्ण कार्यान्वयन तथा सुदूरपश्चिम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँच विस्तार गर्ने विषयहरू पनि समावेश गरिएको छ।

प्रतिक्रिया