करदातालाई त्रसित होइन, खुसी बनाएर कर उठाउन अर्थमन्त्री वाग्लेको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०८३, शुक्रबार ०६:१४

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई दपेटेर वा त्रसित बनाएर होइन, सहजीकरण गर्दै स्वेच्छिक कर अनुपालनमार्फत कर असुली गर्न कर प्रशासकहरूलाई निर्देशन दिएका छन्।

बिहीबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई नागरिकमैत्री, पारदर्शी र प्रविधिमैत्री बनाउन जोड दिए।

उनले कर प्रशासनमा सुधारको अनुभूति बजारमा देखिनुपर्ने उल्लेख गर्दै कर तिर्नु बोझ नभएको र करदाता त्रसित हुने अवस्था अन्त्य हुनुपर्ने बताए। जबरजस्ती वा डर देखाएरभन्दा पनि विश्वास र सहजीकरणमार्फत करको दायरा विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले कर प्रशासन सुदृढ बनाउन आवश्यक जनशक्ति, पूर्वाधार र सूचना प्रविधिको व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताए। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन तथा वृत्तिविकासमा प्राथमिकता दिइने उल्लेख गर्दै उनले सरुवा–बढुवाका लागि अनुचित भनसुन वा दबाब नलगाउन पनि चेतावनी दिए।

उनले चालु आर्थिक वर्षको राजस्व लक्ष्य पूरा गर्न कर प्रशासनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ‘मिसन १६ खर्ब’ अन्तर्गत आन्तरिक राजस्वको लक्ष्य अनिवार्य रूपमा हासिल गर्न निर्देशन दिए। बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिएको दाबी गर्दै आगामी चार वर्षभित्र सबल अर्थतन्त्रको आधार स्पष्ट देखिने विश्वास व्यक्त गरे।

अर्थमन्त्रीले बजेटमार्फत ल्याइएका कर छुट योजनाको प्रभावकारी कार्यान्वयन, करदाता सचेतना अभिवृद्धि, डिजिटल कारोबारको विस्तार तथा स्वेच्छिक कर अनुपालनलाई प्राथमिकतामा राख्न विभागीय नेतृत्वलाई निर्देशन दिए।

साथै, नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले तीव्र पहल गरिरहेको उल्लेख गर्दै वित्तीय अपराध तथा कर छलछामका गतिविधिमाथि प्रभावकारी निगरानी गर्न कर प्रशासकहरूलाई सचेत गराए।

प्रतिक्रिया

Leave a Reply

slot gacor