काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूलाई भेट्न आउने सरोकारवाला, विशिष्ट व्यक्ति तथा सर्वसाधारणका लागि नयाँ भेटघाट समय तालिका लागू गर्नुभएको छ। मन्त्रीको समय व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन अर्थ मन्त्रालयको सचिवालयले नयाँ कार्यविधि लागू गरेको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार अर्थमन्त्रीसँग मंगलबार, बुधबार र बिहीबार मात्रै भेटघाट गर्न सकिनेछ। यी तीन दिन अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेटघाटका लागि समय निर्धारण गरिएको छ।
भेटघाट प्रक्रियालाई थप व्यवस्थित बनाउन सचिवालयले क्यूआर कोड प्रणाली पनि लागू गरेको छ। मन्त्रीसँग भेट्न इच्छुक व्यक्तिले क्यूआर कोड स्क्यान गरी भेटघाटको उद्देश्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। त्यसपछि सचिवालयमार्फत अग्रिम रूपमा समय तालिका (अपोइन्टमेन्ट) लिएपछि मात्रै भेटघाट गर्न सकिने व्यवस्था गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले मन्त्रीको कार्यतालिकालाई व्यवस्थित बनाउनुका साथै सरोकारवालासँगको भेटघाटलाई थप प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया