काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पुँजीगत खर्च र राजस्व संकलनको लक्ष्य हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित बजेट कार्यान्वयन योजनासम्बन्धी बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बजेट पाँच वर्षे सरकारको आर्थिक मार्गचित्र कार्यान्वयनको पहिलो चरण भएकाले विगतका कमजोरी दोहोरिन नहुने बताए।
अर्थमन्त्री वाग्लेले गत आर्थिक वर्षमा पुँजीगत खर्च करिब ४९ प्रतिशतमा सीमित भएको र राजस्व संकलन पनि अपेक्षाअनुसार हुन नसकेको उल्लेख गर्दै चालु वर्षमा यस्तो अवस्था स्वीकार्य नहुने स्पष्ट पारे। उनले कम्तीमा ८० प्रतिशत पुँजीगत खर्च सुनिश्चित गर्न र १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्न निर्देशन दिए।
उनले बजेट कार्यान्वयनमा देखिने कानुनी वा व्यावहारिक समस्या निर्धक्क रूपमा अर्थ मन्त्रालयसमक्ष राख्न र योजनाबद्ध ढंगले काम अघि बढाउन सचिवहरूलाई आग्रह गरे।
अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनलाई सहज बनाउन गत आर्थिक वर्षदेखि रकमान्तर तथा अवण्डा बजेटको विस्तृतीकरणसम्बन्धी अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरिएको उल्लेख गर्दै त्यसको प्रभावकारी उपयोग गर्न पनि निर्देशन दिए।
प्रतिक्रिया