काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको परिवारसँग नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।
गणेश नेपालीको उपचारका क्रममा असार २५ गते वीर अस्पतालको बर्न युनिटमा निधन भएको थियो। त्यसपछि उचित राहत, न्याय र घटनाको निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवारले शव बुझ्न अस्वीकार गरेका थिए।
पीडित परिवारको अडानपछि भएको वार्तामा सरकारले मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण जिम्मेवारी लिने तथा पत्नीलाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिने तथा दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। सहमतिपछि परिवारले शव बुझ्न सहमति जनाएको छ।
यस्तै, गणेश नेपाली आत्मदाह प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई तत्कालका लागि निलम्बन गरिने भएको छ।
सहमतिको तेस्रो बुँदाअनुसार घटना भएको दिन घटनास्थलको अग्रभागमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन वा सिफारिसका आधारमा अन्तिम निर्णय हुने गरी हाललाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने सहमति भएको छ।
सहमतिमा घटनाको सत्यतथ्य सार्वजनिक गर्दै पीडित परिवारलाई न्याय दिलाउने, राहत तथा पुनःस्थापनासम्बन्धी व्यवस्था सुनिश्चित गर्ने विषयमा पनि प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया