सिंहदरबारमै खानेबस्ने मन्त्रीको व्यस्तता मन्त्रालयको खाका बनाइरहेका नवप्रवर्तनमन्त्री पुन दैनिक करिब ३० जनासँग गर्छन् छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ असार २०८३, बिहीबार ०७:०१

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनका प्रमुख अभियन्ता रहेका मन्त्री महावीर पुन अहिले आफूले नेतृत्व गरिरहेको मन्त्रालयको संरचना बनाउनमै व्यस्त छन् । मन्त्रालयको भवनमै बसोबास र भोजनको व्यवस्था मिलाएर उनी बिहानदेखि रातिसम्म मन्त्रालयको कार्यक्षेत्र, संरचना र दीर्घकालीन योजनाबारे छलफल तथा अध्ययनमा केन्द्रित छन् ।

तर, मन्त्रालय स्थापना भएको डेढ महिना पुग्दा पनि यसको स्पष्ट कार्यढाँचा, संगठन संरचना र क्षेत्राधिकार भने टुंगिन सकेको छैन । नयाँ प्रकृतिको मन्त्रालय भएकाले के–के विषय समेट्ने, कति शाखा, महाशाखा र विभाग रहने तथा संघ, प्रदेश र स्थानीय तहसम्म यसको संरचना कसरी विस्तार गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको छ ।

मन्त्री पुनका अनुसार उनी दैनिक करिब ३० जनासम्मसँग छलफल गरिरहेका छन् । साथै, विभिन्न मुलुकमा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी मन्त्रालयले कसरी काम गरिरहेका छन् भन्ने अध्ययन पनि भइरहेको छ । ‘दिनदिनै छलफल र अध्ययन गरिरहेकै छु, तर निष्कर्षमा पुगेको छैन । यो नयाँ किसिमको मन्त्रालय हो । सबैले बुझ्दा पनि पूर्ण रूपमा बुझ्दैनन् । मेरो सोच भनेको नवप्रवर्तनलाई आर्थिक आम्दानीको आधारस्तम्भ बनाउनु र रोजगारी सिर्जना गर्नु हो,’ पुनले भने ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनका लागि पुनले लामो समयदेखि आवाज उठाउँदै आएका थिए । गत फागुनको चुनावबाट रास्वपाले एकल बहुमत ल्याएपछि वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बने । उनले नवप्रवर्तन मन्त्रालय मात्र गठन गरेनन्, स्वतन्त्र सांसद रहेका पूर्वमन्त्री पुनलाई नै जिम्मेवारी दिए । गत २६ जेठमा मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दै मन्त्रालयको बलियो जग निर्माणलाई पहिलो प्राथमिकता बनाउने बताएका थिए । उनले भनेका थिए, ‘विज्ञान–प्रविधिको विकास ढिलो गतिमा सम्भव छैन । दिनरात खटेर काम गर्नुपर्छ । सरकारको कार्यकाल पाँच वर्ष भए पनि म तीन वर्षभन्दा बढी पदमा बस्ने सोचमा छैन । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । अहिलेको प्राथमिकता भनेको मन्त्रालयको जग बलियो बनाउनु हो ।’

अविष्कारलाई केन्द्रमा राखिने
मन्त्री पुनका अनुसार मन्त्रालयको मुख्य जिम्मेवारी अविष्कार र नवप्रवर्तन हुनेछ । त्यसलाई कृषि, उद्योग, प्रविधि तथा अन्य क्षेत्रसँग कसरी जोड्ने भन्ने मोडालिटी तयार पार्ने काम भइरहेको छ ।

उनले मन्त्रालयलाई परम्परागत सरकारी निकायभन्दा फरक ढंगले सञ्चालन गर्ने लक्ष्य लिएका छन् । ‘देशमा आर्थिक आम्दानीका नयाँ स्रोत थप्ने, युवाको प्रतिभा र सिर्जनशीलतालाई देशमै प्रयोग गर्ने वातावरण बनाउने हाम्रो उद्देश्य हो । नयाँ कुरा आविष्कार गर्ने क्षमता भएका युवालाई बिदेसिन नदिई देशभित्रै अवसर सिर्जना गर्छौँ,’ उनले सुनाए ।

कानुनी र प्रशासनिक संरचना अझै बन्न बाँकी : कर्मचारी २४ मात्र, आवश्यक ९० जनासम्म 
हाल मन्त्रालय साबिकको युवा तथा खेलकुद मन्त्रालयको भवनबाट सञ्चालन भइरहेको छ । मन्त्रालयको स्थायी संगठन संरचना, नियमावली तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण अझै सम्पन्न भएको छैन । सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि मन्त्रालयलाई चार अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

हाल मन्त्रालयमा २४ जना कर्मचारी कार्यरत छन । तर, मन्त्रालयको कार्यक्षेत्र विस्तार हुँदै जाँदा कर्मचारी संख्या ८० देखि ९० जनासम्म पुर्‍याउनुपर्ने आवश्यकता देखिएको मन्त्री पुन बताउँछन् । उनका अनुसार संघ, प्रदेश र स्थानीय तहसम्म मन्त्रालयको उपस्थिति विस्तार गर्ने गरी संगठन निर्माणको गृहकार्य भइरहेको छ ।

विश्वविद्यालयसँग सहकार्य हुने 
मन्त्रालयले तयार पारेको प्रारम्भिक अवधारणाअनुसार शैक्षिक तथा अनुसन्धानसम्बन्धी काम विश्वविद्यालय अनुदान आयोग (युजिसी) मार्फत अघि बढाइनेछ । देशभरका विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना गरी विद्यार्थीका अनुसन्धान र आविष्कारलाई मन्त्रालयसँग जोड्ने योजना छ । साथै, विश्वविद्यालयबाहिरका आविष्कारकर्ता र स्थानीय तहका सिर्जनशील व्यक्तिका लागि पनि इनोभेसन सेन्टर स्थापना गर्ने तयारी गरिएको  छ । ‘सानो कृषि औजार बनाउनेदेखि ठुलो प्रविधि विकास गर्ने सबै प्रकारका आविष्कारलाई सम्मान र प्रोत्साहन गर्छौँ । थोपाथोपा आविष्कार जोडेर देशलाई नवप्रवर्तनमय बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

slot gacor