काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि गोकर्णेश्वर नगरपालिकाले ५१ लाख रुपैयाँको राहत कोष खडा गरेको छ। नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहयोगबाट उक्त रकम संकलन भएको हो।
बाढीपीडित नागरिकको राहत तथा उद्धारका लागि नगरवासीबाट समेत सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको नगरपालिकाले जनाएको छ। नगरभित्रका विभिन्न क्लब, टोल सुधार समिति, महिला समूह तथा संघ–संस्थाहरूले समेत विपद् तथा राहत कोषमा सहयोग गरिरहेका छन्।
नगर प्रमुख दिपक रिसालले विपद्को कठिन समयमा गोकर्णेश्वरवासीले देखाएको मानवीयता र एकताप्रति आभार व्यक्त गर्दै संकलित रकम पारदर्शी रूपमा पीडितसम्म पुर्याइने बताए।
उनले भने, “गोकर्णेश्वरवासीले देखाउनुभएको सहयोग र मानवीय भावना अत्यन्त प्रशंसनीय छ। संकलित सम्पूर्ण रकमको विवरण तथा बैंक स्टेटमेन्ट पारदर्शी रूपमा सार्वजनिक गर्छौं। रकम एकमुष्ट रूपमा सरकारको माध्यमबाट रसुवा बाढीपीडित नागरिकको राहत तथा सहयोगका लागि प्रदान गरिनेछ।”
उपप्रमुख सन्नानी लामाले पनि विपद्को समयमा गोकर्णेश्वरका नागरिकले देखाएको सहयोगले मानवीय एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताइन्। उनले राहत कोषमा सहयोग गर्ने नगरवासी, संघ–संस्था तथा विभिन्न समूहलाई धन्यवाद दिँदै पीडितको दुःखमा सबै मिलेर उभिनुपर्नेमा जोड दिइन्।
नगरपालिकाका अनुसार हालसम्म जनप्रतिनिधि तथा कर्मचारीबाट मात्रै रु. ५१ लाख संकलन भइसकेको छ भने नगरवासी तथा विभिन्न संघ–संस्थाबाट थप सहयोग आउने क्रम जारी छ।
नगर प्रमुख रिसालले नगरपालिकामा प्रत्यक्ष उपस्थित भएर सहयोग रकम प्रदान गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गर्दै विपद्को यस कठिन घडीमा गोकर्णेश्वर नगरपालिका पीडित नागरिकको साथमा रहेको बताए।
“यो केवल आर्थिक सहयोग होइन, दुःखमा परेका नागरिकप्रतिको हाम्रो ऐक्यबद्धता हो,” नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया