पुल बगेपछि नुवाकोटका पाँच ठाउँमा ‘तुइन’ : राहत र आवतजावत सहज बनाउने प्रयास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०८३, मंगलवार ०६:११

नुवाकोट । गत भदौ १० गते आएको हिमबाढीले भोटेकोशी तथा त्रिशूली नदीमाथिका पुलहरू बगाएपछि अवरुद्ध आवतजावत सहज बनाउन नुवाकोटका पाँच स्थानमा तुइन जडान गर्न थालिएको छ।

बागमती प्रदेश सरकारले तत्कालीन वैकल्पिक आवतजावतका लागि त्रिशूलीबजार, देवीघाट, वेत्रावती, भैँसे र सिमचौरमा तुइन जडान गर्न लागेको हो। त्रिशूलीबजारमा तुइन जडानको काम सम्पन्न भइसकेको छ भने अन्य स्थानमा क्रमशः जडान भइरहेको छ।

पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाका अनुसार पुल तथा सडकमार्ग अवरुद्ध हुँदा राहत, उद्धार र अत्यावश्यक स्वास्थ्य सेवा प्रभावित क्षेत्रमा पुर्‍याउन कठिनाइ भएपछि तत्कालका लागि तुइनलाई वैकल्पिक माध्यमका रूपमा प्रयोग गर्न लागिएको हो।

उनका अनुसार त्रिशूलीबजारमा सोमबार राति तुइन जडान सम्पन्न भएको छ भने देवीघाटमा मंगलबार जडान गर्ने तयारी गरिएको छ। बाँकी स्थानमा पनि क्रमशः तुइन सञ्चालनमा ल्याइनेछ।

विदुर नगरपालिका–१ का वडाध्यक्ष लेनिन रञ्जितले तुइन सञ्चालनमा आएपछि स्थानीयलाई नदी वारपार गर्न तथा औषधि, खाद्यान्न र राहत सामग्री ओसारपसार गर्न सहज हुने बताए।

बाढीपछि कतिपय क्षेत्रमा राहत सामग्री पारि पुर्‍याउन तथा उद्धार गर्न हेलिकोप्टरको भर पर्नुपर्ने अवस्था थियो। तुइन सञ्चालनमा आएपछि यस्तो समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

एउटा तुइन निर्माणमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सडक तथा स्थायी पुल पुनर्निर्माण गर्न समय लाग्ने भएकाले त्यस अवधिसम्म अत्यावश्यक आवतजावत कायम राख्न प्रदेश सरकारले तुइन, अस्थायी पुललगायत वैकल्पिक संरचनालाई प्राथमिकता दिएको जनाएको छ।

बाढीबाट टुटेको सम्पर्क पुनः जोड्न थालिएको यो प्रयासले प्रभावित नागरिकसम्म खाद्यान्न, औषधि, स्वास्थ्य सामग्री र अन्य राहत सामग्री पुर्‍याउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor