काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं ले प्रधानमन्त्री बालेन साह विदेशी शक्तिको योजनाअनुसार सत्तामा पुगेको दाबी दोहोर्याएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएपछि प्रहरीले घर पुर्याएलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले बालेन साहको प्रधानमन्त्री बन्ने यात्रा पूर्वनियोजित रहेको आरोप लगाए।
उनका अनुसार सन् २०१९ देखि नै बालेन साहलाई प्रधानमन्त्री बनाउने उद्देश्यसहित ‘प्रोजेक्सन’ गरिएको थियो। उनले भने, “२०१९ मै बालेनलाई तयार पारियो, २०२१ मा मेयर बनाइयो र २०२६ मा प्रधानमन्त्री बनाउने गरी योजना बनाइएको थियो।” प्रसाईंले यसक्रममा सामाजिक अभियन्ता गोविन्द केसी र दिवंगत राजनीतिज्ञ उज्ज्वल थापा लाई पनि अघि सारिएको दाबी गरे।
लामो समयदेखि राजनीतिक संघर्ष गरेका नेताहरूलाई पाखा लगाएर बालेन साहलाई सत्तामा पुर्याइएको आरोप लगाउँदै उनले बालेन स्वतन्त्र रूपमा निर्णय गर्ने अवस्थामा नरहेको टिप्पणी गरे। “दिमाग र टाउको अर्कोको छ, हातखुट्टा मात्रै उहाँको हो। उसले जे भन्छ, त्यही गर्नुपर्छ,” उनले भने।
प्रसाईंले वर्तमान सरकारको आयु दशैँसम्म मात्र रहने चेतावनी दिँदै आफूहरू जुन बाटोबाट आएका हुन्, त्यही बाटो हुँदै सरकार पनि फर्किने दाबी गरे। साथै उनले बालेन नेतृत्वको सरकारले ‘अल्गोरिदम’ कब्जा गरेर फासीवादी शैली लागू गर्न खोजेको आरोप लगाए।
आफूलाई ‘भँडुवा’ भन्दै धरपकड गर्नुको कुनै औचित्य नभएको जिकिर गर्दै प्रसाईंले वर्तमान व्यवस्थाले नागरिकलाई निराश बनाएर आत्मदाहसम्म गर्न बाध्य बनाएको आरोप लगाए। आफ्नो अभियानले छिट्टै सार्थकता पाउने विश्वास पनि उनले व्यक्त गरे।
प्रतिक्रिया