जया मल्टिपल क्याम्पसद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य सम्मान तथा बिदाइ, मधेश विश्वविद्यालयका उपकुलपति डा. शाक्य विशेष सम्मानित 'विद्यार्थीलाई केवल परीक्षा पास गराउने होइन, देश हाँक्ने नेतृत्व उत्पादन गर्ने हाम्रो लक्ष्य' — प्राचार्य भवानीप्रसाद पौडेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०८३, आईतवार ०६:४७

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीस्थित जया मल्टिपल क्याम्पस तथा मनकामना सेकेन्डरी स्कुलले कक्षा १२ (ब्याच–२०८२) का विद्यार्थीहरूको भव्य सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा शिक्षा क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपकबहादुर शाक्यलाई “लेटर अफ एप्रिसिएसन” प्रदान गरी विशेष सम्मान गरिएको छ।

शनिबार नारायणटारस्थित छिमेकी दरबारमा आयोजित कार्यक्रममा कलेजका संस्थापक सदस्य देवी घिमिरेको अध्यक्षता रहेको थियो। कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक उपलब्धिको उच्च मूल्यांकन गर्दै प्रशंसापत्र, मायाको चिनो, खादा तथा टिकासहित सम्मान तथा बिदाइ गरिएको थियो। विभिन्न संकायमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।

‘हामी देशको नेतृत्व गर्ने सक्षम जनशक्ति उत्पादन गर्न चाहन्छौं’ : प्राचार्य पौडेल

कार्यक्रमलाई सम्बोधन गर्दै जया मल्टिपल क्याम्पसका प्राचार्य भवानीप्रसाद पौडेलले विद्यार्थी, अभिभावक र क्याम्पस परिवारबीचको सुदृढ सहकार्यका कारण संस्थाले निरन्तर सफलता हासिल गरिरहेको बताउनुभयो।

उहाँले भन्नुभयो,

“आज कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई भोलि सफल मेडिकल स्कलर, आईटी विज्ञ, बैंकिङ क्षेत्रका सीईओ, कानुन व्यवसायी, राष्ट्रसेवक कर्मचारी, सफल राजनीतिज्ञ र देशको नेतृत्व गर्ने व्यक्तिका रूपमा देख्न चाहन्छौं। यही उद्देश्यका साथ हामी गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं।”

उहाँले दुई वर्ष एउटै परिवारझैँ बसेर अध्ययन गरेका विद्यार्थीहरूलाई स्नातक तह पनि यही क्याम्पसमै अध्ययन गर्न आग्रह गर्नुभयो।

“अबका चार वर्ष पनि यही क्याम्पसमा सँगै अध्ययन गर्ने वातावरण बनोस् भन्ने हाम्रो चाहना हो। २०७२ सालदेखि सञ्चालनमा रहेको बीसीए कार्यक्रमसँगै बीबीएस, बीए र बीएसडब्ल्यू सफलतापूर्वक सञ्चालन भइरहेका छन्। यसै वर्षदेखि बीआईटी, बीएससी आईटी र बीबीए सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्बन्धन प्रक्रियासमेत अघि बढिरहेको छ।”

प्राचार्य पौडेलले जया मल्टिपल क्याम्पसमा हाल देशका ४५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै स्वदेश तथा विदेशमा क्याम्पसका पूर्वविद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरिरहेको उल्लेख गर्नुभयो।

‘विदेश मोहभन्दा ज्ञान र सीपलाई प्राथमिकता दिनुस्’ : उपकुलपति डा. शाक्य

विशेष अतिथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपकबहादुर शाक्यले विद्यार्थीहरूलाई कम्तीमा स्नातक तहसम्मको अध्ययन पूरा गर्न प्रेरित गर्दै सफलता प्राप्त गर्न विदेश नै जानुपर्ने सोच त्याग्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो,

“सफल हुन विदेश नै जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक छ। नेपालमै अथाह सम्भावना छ। केही वर्षको मेहनत, अनुशासन र अध्ययनले जीवनभरको सफलता सुनिश्चित गर्न सक्छ। विद्यार्थी जीवनमा गरेको लगानी नै भविष्यको सबैभन्दा ठूलो पूँजी हो।”

उहाँले विद्यार्थीहरूलाई आफ्नो रुचि र क्षमताअनुसार विषय छनोट गर्दै निरन्तर मेहनत गर्न सुझाव दिनुभयो।

शिक्षा, प्रशासन र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विधुर फुयाँल, नेपाल सरकारका सहसचिव हरिकृष्ण पौडेल, पत्रकार मुकुन्द ढुंगाना , सामाजिक अभियन्ता नारायण खतिवडा, उत्तम पुडासैनी, रामहरि श्रेष्ठ लगायत शिक्षा, सामाजिक तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यस्तै विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको थियो।

सांस्कृतिक प्रस्तुतिले थप्यो रौनक

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिएका थिए। वरिष्ठ गायिका कुन्ती मोक्तानले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो भने हाँस्यकलाकार सुवोध गौतमको हास्यव्यङ्ग्य प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकासमा जोड

कार्यक्रमको समापनमा क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षा, व्यावसायिक जीवन तथा राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको थियो।

गोकर्णेश्वर–८, माकलबारीस्थित जया मल्टिपल क्याम्पस तथा मनकामना सेकेन्डरी स्कुलले हरेक वर्ष गुणस्तरीय शिक्षासँगै विद्यार्थीको व्यक्तित्व विकास, सम्मान तथा प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। शिक्षा क्षेत्रमा संस्थाले पुर्‍याउँदै आएको योगदानका कारण पछिल्लो समय यो क्याम्पस उपत्यकाका उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ।

प्रतिक्रिया

Leave a Reply