गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा, माग पूरा नभएसम्म नबुझ्ने परिवारको अडान
rastriyakhabar
२८ असार २०८३, आईतवार ०५:४१
काठमाडौं। आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै शनिबार काठमाडौंस्थित वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले सरकार र सत्तारुढ पक्षविरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री तथा सत्तारुढ दलका नेताहरूलाई लक्षित गर्दै विभिन्न नाराबाजी गरेका थिए। सम्भावित अप्रिय अवस्था रोक्न घटनास्थल वरपर नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो।
गणेश नेपालीको शव हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा पोस्टमार्टमका लागि राखिएको छ। मृतकका आफन्तहरूले आफ्ना माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
घटनासम्बन्धी विषयमा सरकारी पक्ष र पीडित परिवारबीच शुक्रबारदेखि वार्ता जारी रहे पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन। परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा न्याय सुनिश्चित गर्नुपर्ने माग राख्दै आएको छ।
उक्त घटनापछि न्यायको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन तथा विरोधका कार्यक्रमसमेत भइरहेका छन्। सरकार र पीडित पक्षबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा तनावपूर्ण अवस्था कायम रहेको छ।
प्रतिक्रिया