काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ता माजिद अन्सारी, मोनिका निरौला, रिया बानियाँ र सरिस्मा थापालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ। घटनाका क्रममा माजिद अन्सारी घाइते भएको अभियन्ताहरूले बताएका छन्।
गएरातिको अविरल वर्षासँगै बागमती नदीमा आएको बाढी होल्डिङ सेन्टरभित्र पसेपछि त्यहाँ बसिरहेका सुकुम्वासीहरूको अवस्था बुझ्न अभियन्ताहरू घटनास्थल पुगेका थिए। त्यसक्रममा प्रहरी र अभियन्ताबीच विवाद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।
अभियन्ता माजिद अन्सारीले आफूहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको र आफूमाथि कुटपिट भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “हामीलाई पक्राउ पुर्जी दिइएको छैन। मेरो नाक र मुखबाट रगत आइरहेको छ।”
सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोमा प्रहरीले अभियन्ताहरूलाई नियन्त्रणमा लिएर गाडीमा राख्दै गरेको दृश्य देखिन्छ। ती भिडियोमा माजिद अन्सारीको अनुहारमा चोट लागेको देखिएको छ।
घटनापछि जेनजी मुभमेन्ट अलायन्सले शनिबार साँझ विज्ञप्ति जारी गर्दै पक्राउ परेका आफ्ना प्रतिनिधिहरूलाई बिनासर्त रिहा गर्न माग गरेको छ। अलायन्सले घटनालाई “गैरकानुनी” भन्दै स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।
जेन–जी अभियन्ता भावना राउतले सामाजिक सञ्जालमा लेखेकी छन्, “यदि मानव अधिकारको पक्षमा उभिनु अपराध हो भने हामी सबै अपराधी हौँ।” उनले शान्तिपूर्ण प्रदर्शन र नागरिक अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेकी छन्।
अभियन्ता सरिस्मा थापाले प्रहरीले आफूहरूलाई गृहमन्त्रीको स्वकीय सचिव ओजश्वी थापाको इशारामा कुटपिट गरेको आरोप लगाएकी छन्। उनले “माजिद अन्सारीलाई प्रहरीले पिट्नुअघि ओजश्वीले नै प्रहरीलाई इशारा गरेका थिए” भनेर दाबी गरेकी छन्।
यद्यपि, उक्त आरोपबारे गृहमन्त्रीको सचिवालय वा प्रहरी प्रशासनको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
घटनाबारे नेपाल प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। प्रहरी स्रोतका अनुसार घटनाको विवरण संकलन भइरहेको छ।
प्रतिक्रिया