जेनजी अभियन्तामाथि प्रहरी दमनप्रति गगन थापाको आपत्ति, पक्राउ परेकालाई अविलम्ब रिहा गर्न माग कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्वासीको अवस्था बुझ्न पुगेका युवामाथि कुटपिट भएको भन्दै सरकारको आलोचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०८३, आईतवार ०५:२९

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुम्वासीको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूमाथि प्रहरीले गरेको कुटपिट र पक्राउको घटनाप्रति कडा आपत्ति जनाएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सभापति थापाले अभियन्ताहरू माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायतमाथि भएको व्यवहारलाई “अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय” भन्दै लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको टिप्पणी गरेका हुन्।

उनले बाढीपीडित सुकुम्वासीको अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरूलाई निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अस्वीकार्य भएको उल्लेख गर्दै लोकतन्त्रमा नागरिकलाई प्रश्न सोध्ने अधिकार सुनिश्चित हुनुपर्ने बताए।

थापाले लेखेका छन्, “लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो। यसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन। सरकार बलियो तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने क्षमता राख्छ।”

उनले आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै फरक मत सुन्न नसक्नु सत्ताको कमजोरी भएको टिप्पणी गरेका छन्। साथै, पक्राउ परेका सम्पूर्ण युवालाई अविलम्ब विनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।

यसअघि नेपाल जेनजी फ्रन्टले पनि गृहमन्त्रीकी स्वकीय सचिव ओजश्वी थापाको इशारामा प्रहरीले अभियन्तामाथि कुटपिट गरेको तथा सर्वोच्च अदालतमा सुकुम्वासीको पक्षमा बहस गरिरहेका अधिवक्ता माजिद अन्सारीलाई प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै विरोध जनाएको थियो।

यता, नेपाल प्रहरीले भने अभियन्ताहरूले होहल्ला गरेपछि नियन्त्रणमा लिनुपरेको दाबी गर्दै आएको छ। तर हिरासतमा रहेका माजिद अन्सारीको नाक र मुखबाट रगत बगिरहेको देखिने भिडियो सार्वजनिक भएपछि घटनाको व्यापक आलोचना भइरहेको छ।

यस घटनापछि नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र राज्यको बल प्रयोगबारे सार्वजनिक बहस समेत चुलिएको छ।

प्रतिक्रिया

Leave a Reply