काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार बिहान करिब १०:२० बजे माकलबारीस्थित सडक खण्डमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकातर्फ जाँदै गरेको बा.प्र.०६–००१ झ ००१७ नम्बरको गाडीमा लोड गरिएको अक्सिजन सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट भएको हो।
उक्त गाडी पाँचपोखरी थाङपाल गाउँपालिका–४ निवासी ४२ वर्षीय कृष्ण अधिकारीले चलाइरहेका थिए। गाडीमा पनौतीस्थित नवज्योति अक्सिजनबाट ल्याइएका फायर एक्स्टिङ्ग्विसर तथा अक्सिजन ग्यास सिलिन्डर राखिएको थियो। नेपाल मेडिकल कलेज पछाडि रहेको पञ्चकुमारी फार्मेसीबाट औषधि लिएर पाँचपोखरी प्राथमिक अस्पतालतर्फ जाँदै गर्दा माकलबारीमा दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा सानो अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटमा सडकमा पैदल हिँडिरहेका बागलुङ घर भई हाल गोकर्णेश्वर–८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको भए पनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान १०:४६ बजे चिकित्सकले थापालाई मृत घोषणा गरेका थिए। उनको शव हाल नेपाल मेडिकल कलेज, अत्तरखेलमा राखिएको छ।
घटनापछि चालक कृष्ण अधिकारी प्रहरीको सम्पर्कमा रहेका छन् भने विस्फोट भएको सवारी साधन घटनास्थलमै राखिएको छ।
प्रहरीले विस्फोटको कारण र घटनाको प्रकृतिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया