काठमाडौं । बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा थप मजबुत बनाउन CCTV क्यामेरा जडान तथा सञ्चालनसम्बन्धी सम्झौता गरिएको छ।
आज मिति २०८३/०५/०९ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र बुढानीलकण्ठ नगरपालिकाबीच CCTV क्यामेरा जडान तथा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौर र बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले हस्ताक्षर गर्नुभएको छ।
नगर क्षेत्रका विभिन्न संवेदनशील तथा सार्वजनिक स्थानमा CCTV क्यामेरा जडान गरी प्रभावकारी निगरानी प्रणाली विकास गर्ने उद्देश्यले सम्झौता गरिएको जनाइएको छ। CCTV प्रणालीको सञ्चालनसँगै सार्वजनिक स्थानमा हुने गतिविधिको निगरानी, सम्भावित आपराधिक गतिविधिको पहिचान तथा सुरक्षा निकायलाई आवश्यक सूचना प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
बुढानीलकण्ठ नगरपालिकामा बढ्दो शहरीकरणसँगै सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री र प्रभावकारी बनाउने आवश्यकता बढिरहेका बेला नगरपालिकाले प्रहरीसँगको समन्वयमा CCTV निगरानी प्रणाली विस्तार गर्न लागेको हो।
CCTV क्यामेराको प्रभावकारी सञ्चालनले अपराध नियन्त्रण, अनुसन्धानमा सहयोग, सार्वजनिक सुरक्षा अभिवृद्धि तथा आपत्कालीन अवस्थामा तत्काल प्रतिक्रिया जनाउन समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिका र प्रहरीबीचको सहकार्यले बुढानीलकण्ठ क्षेत्रमा सुरक्षा निगरानीलाई थप व्यवस्थित बनाउँदै नागरिकमा सुरक्षित वातावरणको अनुभूति बढाउने विश्वास गरिएको छ।
नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा नगरपालिकाले पूर्वाधार विकाससँगै सुरक्षा, प्रविधि र नागरिक सेवाको क्षेत्रमा समेत आधुनिक प्रणाली विकास गर्ने प्रयासलाई अघि बढाएको छ। CCTV प्रणालीको विस्तारसँगै बुढानीलकण्ठलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री नगरका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बुढानीलकण्ठमा CCTV निगरानीको विस्तार : सुरक्षित नगर निर्माणतर्फ महत्वपूर्ण कदम।
प्रतिक्रिया