काठमाडौं। काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।
शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई गम्भीर अवस्थामा उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। उपचारमा संलग्न डाक्टर पियुष दाहालका अनुसार उपचारकै क्रममा राउतको निधन भएको हो।
राउतका भाइ दीपक राउतका अनुसार बिहान करिब ६ बजेतिर घरमा श्राद्धको तयारी भइरहेको बेला श्रीमती नुहाउन गएको समयमा अश्विनले घरबाहिर पार्किङ गरिएको स्कुटरबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।
घटनापछि आवाज सुनेर बाहिर निस्किएकी उनकी श्रीमती, छिमेकी तथा नजिकैको होस्टेलमा बस्ने युवाहरूको सहयोगमा आगो निभाएर उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो।
पारिवारिक स्रोतका अनुसार राउतको करिब एक वर्षअघि स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि उनी लामो समयदेखि शारीरिक तथा मानसिक तनावमा रहेका थिए। थप उपचारको तयारीसमेत भइरहेको परिवारले जनाएको छ।
घटनापछि केही सञ्चारमाध्यमले यस घटनालाई पारिवारिक विवाद तथा राजनीतिक प्रसंगसँग जोडेर समाचार सम्प्रेषण गरेको भन्दै मृतकका परिवारले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। वास्तविक तथ्य नबुझी अनुमानका आधारमा प्रकाशित समाचारले शोकमा रहेको परिवारलाई थप मानसिक पीडा पुगेको भन्दै भाइ दीपक राउतले सञ्चारमाध्यमलाई जिम्मेवार, संवेदनशील र तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया