काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै आयोगमा औपचारिक निवेदन दर्ता गराएका छन्।
एमालेका तर्फबाट पार्टीका केन्द्रीय सदस्य महेश बर्तौलाले बिहीबार पुल्चोकस्थित आयोगको कार्यालय पुगेर अध्यक्ष तपबहादुर मगरलाई उक्त निवेदन बुझाएका हुन्।
निवेदनमा २०८२ साल भदौ २३ र २४ गते भएका घटनासम्बन्धी आयोगको निर्णय नं. १७७ अन्तर्गत गरिएको सिफारिस नेपालको संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका स्थापित मान्यताविपरीत रहेको दाबी गरिएको छ। एमालेले उक्त सिफारिस पूर्वाग्रहपूर्ण, असंवैधानिक तथा तथ्यहीन रहेको जिकिर गर्दै त्यसलाई पुनर्विचार गरी सच्याउन माग गरेको छ।
यससँगै आयोगले यसअघि माग गरिएका कागजात तथा प्रतिवेदनहरूको प्रतिलिपि पूर्ण रूपमा उपलब्ध नगराएको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाएका छन्। निवेदनमार्फत घटना छानबिनका लागि लिली थापाको नेतृत्वमा गठित समितिले बुझाएको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन आग्रह गरिएको छ।
निवेदनमा समितिको प्रतिवेदनका कुन–कुन अंश आयोगले स्वीकार गरेको, कुन हटाएको वा थप गरेको हो तथा त्यसका आधार र कारणसहितका सम्पूर्ण कागजात उपलब्ध गराउन माग गरिएको छ।
यस्तै, उक्त घटनासम्बन्धमा आयोगले थप छानबिन, अनुसन्धान वा अध्ययन गरेको भए त्यससँग सम्बन्धित प्रतिवेदन तथा अन्य सबै प्रमाणित कागजातको प्रतिलिपि उपलब्ध गराउन पनि एमालेले निवेदनमार्फत आग्रह गरेको केन्द्रीय सदस्य महेश बर्तौलाले जानकारी दिएका छन्।
प्रतिक्रिया