निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा छ : अन्जन श्रेष्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०८३, सोमबार ०५:५७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउँदै व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन्।

आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे।

राजनीतिक परिवर्तन, प्राकृतिक प्रकोपलगायत विभिन्न चुनौतीका बीच पनि निजी क्षेत्रले निरन्तर व्यवसाय सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले पछिल्ला घटनाक्रमले निजी क्षेत्रसँगै युवाहरूलाई समेत थप त्रसित बनाएको बताए।

“समस्या थुप्रै छन् तर सबैभन्दा पहिलो कुरा त निजी क्षेत्रलाई विश्वास गर्नुप¥यो, निजी क्षेत्रको कन्फिडेन्स बढाइदिनुप¥यो। अहिलेको समयमा निजी क्षेत्रको कन्फिडेन्स इतिहासमै एभर लो अवस्थामा छ,” उनले भने।

श्रेष्ठले पछिल्लो परिस्थितिमा निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

एउटा उद्योगलाई मात्र केन्द्रमा राखेर औद्योगीकरण सम्भव छैन

सरकारले केही उद्योग सञ्चालन गर्न खोज्नु गलत नभए पनि एउटा उद्योगलाई मात्र केन्द्रमा राखेर औद्योगीकरणको नीति बनाउन नहुने श्रेष्ठको भनाइ छ।

हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने विषयमा मन्त्रीले निजी क्षेत्रले उद्योग बन्द गराउन खोज्न सक्ने आशंका व्यक्त गरेको प्रसंग उल्लेख गर्दै श्रेष्ठले यस्तो सोचले देशमा औद्योगीकरण अघि बढ्न नसक्ने टिप्पणी गरे।

“सरकारले केही उद्योग सञ्चालन गर्न खोजिरहेको छ, त्यसलाई म गलत भन्दिनँ। तर एउटा उद्योगका लागि मात्रै सोचेर भएन। यस्तो सोच बनाएर देशमा औद्योगीकरण हुँदैन। नेतृत्व लिनेहरूले यस्तो सोच लिनु हुँदैन,” उनले भने।

निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोण राखेर मुलुकको आर्थिक विकास सम्भव नहुने भन्दै उनले सरकारले उद्योग सञ्चालन गरे पनि निजी क्षेत्रलाई कसरी सँगसँगै अघि बढाउने भन्ने स्पष्ट नीति आवश्यक रहेको बताए।

स्वदेशमै कपडा उत्पादन बढाउनुपर्नेमा जोड

श्रेष्ठले नेपालमा खपत हुने कपडाको ठूलो हिस्सा स्वदेशमै उत्पादन हुने वातावरण निर्माण गर्न सरकारले नीतिगत पहल गर्नुपर्ने बताए।

उद्योगको उत्पादन बढाउन एउटा उद्योग मात्र सञ्चालन गरेर नहुने भन्दै उनले कच्चा पदार्थ, उत्पादन, बजार, रोजगारी, लगानीलगायत सबै पक्ष समेटिएको समग्र ‘इकोसिस्टम’ निर्माण गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ।

उद्यमीको मनोबल गिराएर आर्थिक विकास सम्भव छैन

श्रेष्ठले व्यवसायीहरूले दैनिक रूपमा नाफा–घाटा, बजारको उतारचढाव तथा विभिन्न चुनौती सामना गर्दै पनि आशावादी भएर व्यवसाय अघि बढाइरहेको बताए।

उद्यमीको मनोबल गिराउने तथा उनीहरूको हुर्मत लिने प्रवृत्तिले देशको आर्थिक विकास र प्रगतिमा नकारात्मक असर पार्ने उनको भनाइ छ।

सरकार र निजी क्षेत्रबीच विश्वासको सम्बन्ध बलियो बनाउँदै व्यवसायमैत्री नीतिगत वातावरण निर्माण गर्न सके मात्रै उद्योग विस्तार, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रले गति लिने श्रेष्ठले बताए।

प्रतिक्रिया

Leave a Reply

slot gacor