काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार र दीर्घकालीन राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयको अध्ययन र सिकाइ आवश्यक रहेको बताएका छन्।
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा जन्मिँदै अब्बल विद्यार्थीका रूपमा आएको भए पनि कक्षा जम्प गर्दा छुटेका अध्यायहरू फर्केर पढ्नुपर्ने बताए।
उनले रास्वपाले सरकारसम्म आइपुग्ने क्रममा सिक्नुपर्ने कतिपय विषय छुटेको हुनसक्ने भन्दै ती विषयको अध्ययनका लागि पार्टीभित्र पर्याप्त समय दिनुपर्नेमा जोड दिए।
“रास्वपालाई जिम्मेवार ठाउँमा पुर्याउँदै गर्दा हामीले अध्ययन गर्नुपर्ने कतिपय कक्षा जम्प गरेको पनि हुनसक्छ। रास्वपा जन्मिँदै अब्बल विद्यार्थी भएरै जन्मेको हो। तर कक्षा जम्प गर्नुको अर्थ छुटाएका अध्याय पढ्ने र सिक्ने होइन भन्ने होइन,” उनले भने।
लामिछानेले छुटेका राजनीतिक तथा संगठनात्मक अध्याय अध्ययन गर्ने उपयुक्त प्लेटफर्म पार्टी नै भएको बताए। राजनीतिक दललाई दीर्घकालसम्म बलियो बनाउन निश्चित सिद्धान्त, अनुशासन, नीति र विधिको पालना आवश्यक रहेको उनको भनाइ छ।
उनले भने, “एउटा राजनीतिक दल राजनीतिक दल बन्नका लागि केही सामान्य सिद्धान्त छन्। ती सिद्धान्तको बीचमा बसेर अनुशासनको घेराभित्र रही नीति र विधिलाई पालना गर्दै अगाडि बढियो भने पार्टी कालान्तरसम्म निरन्तर बलियो राजनीतिक शक्तिका रूपमा अगाडि बढ्छ।”
सभापति लामिछानेले पहिलो महाधिवेशनबाट निर्वाचित तथा हालै मनोनित नेताहरूको जिम्मेवारी आगामी दिनमा आउने नेताहरूको भन्दा बढी रहेको बताए। त्यसकारण वर्तमान नेतृत्वले प्रशिक्षण र सिकाइमा अझ बढी समय खर्च गर्नुपर्ने उनको भनाइ थियो।
रास्वपा अहिले पार्टीको जग बसाल्ने चरणमा रहेको उल्लेख गर्दै उनले स्थापनाकालदेखिका साथी, संस्थापक तथा पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वको भूमिकाले पार्टीको भविष्य निर्धारण गर्ने बताए।
“हामी जग बसाल्ने ठाउँमा छौं। स्थापनाकालदेखिका साथीहरू, संस्थापकहरू र पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वको जिम्मेवारी यो राजनीतिक दलको भविष्य कति परसम्म जान्छ भन्ने कुरामा निर्भर गर्दछ,” उनले भने।
रास्वपा कसरी स्थापित भयो भन्ने विषयको हिसाब–किताब चोकचौतारामा दिँदै हिँड्न आवश्यक नरहेको भन्दै लामिछानेले पार्टीमा आएपछि आफूहरूले के गरिरहेका छन् भन्ने कुरा आमनागरिक र विश्व समुदायले मूल्यांकन गरिरहेको बताए।
उनले भने, “हामी कसरी आयौं अब त्यसको हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन। आइसकेपछि हामी के गर्दैछौं? आमनागरिकले, विश्व समुदायले हेरिरहेको छ।”
लामिछानेले वर्तमान समयमा राजनीतिक दलका गतिविधि स्थानीय विषयमा मात्र सीमित नरहेको बताए। राजनीतिक दलले एउटा कोठाभित्र गरेको निर्णय तथा गतिविधिको प्रभाव विश्वको अर्को कुनासम्म पुग्न सक्ने भएकाले नेतृत्वले अन्तर्राष्ट्रिय प्रभाव र जिम्मेवारीसमेत बुझ्नुपर्ने उनको भनाइ थियो।
“आजको दिनमा राजनीतिक दल स्थानीय कुरा मात्र होइन, यो अन्तर्राष्ट्रिय विषय हो। एउटा कोठामा गरेको कुराको प्रभाव संसारको अर्को निकै परको कुनासम्म परिरहेको हुन्छ,” उनले भने।
राजनीतिक दलको गतिविधिको प्रभाव र जिम्मेवारीबारे नेतृत्व सचेत हुनुपर्नेमा जोड दिँदै उनले रास्वपाका नेता तथा कार्यकर्ताले बदलिँदो राजनीतिक परिवेशअनुसार अध्ययन, अनुशासन र जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
प्रतिक्रिया