अन्तर्राष्ट्रिय प्रहरी सहकार्य अपरिहार्य रहेको आईजीपी कार्कीको जोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०८३, शुक्रबार ०५:४१

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानुनको शासनलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय प्रहरी सहकार्य अपरिहार्य रहेको बताएका छन्।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयमा जुलाई ७ देखि जारी पाँचौँ संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिट (UNCOPS) लाई सम्बोधन गर्दै आईजीपी कार्कीले साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतङ्कवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट उत्पन्न चुनौती कुनै एक देशको प्रयासले मात्र समाधान गर्न नसकिने बताए।

उनले यस्ता साझा चुनौतीहरूको प्रभावकारी सामना गर्न सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा आधुनिक प्रविधिको प्रयोगमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिक, निष्पक्ष र अनुशासित रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै विश्व शान्ति स्थापनाप्रति नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरे।

उनले नेपाल प्रहरीले महिला प्रहरीको सहभागिता विस्तार, समुदाय–प्रहरी साझेदारी, मानवअधिकारको सम्मान तथा कानुनको शासनलाई प्राथमिकतामा राख्दै आधुनिक, उत्तरदायी र प्रविधिमैत्री प्रहरी सेवाको विकासमा निरन्तर काम गरिरहेको बताए।

प्रतिक्रिया

Leave a Reply