काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। एमबाप्पेले पहिलो हाफमा पाएको पेनाल्टी अवसर सदुपयोग गर्न नसके पनि उनले दोस्रो हाफको ६०औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको ६ मिनेटपछि एमबाप्पेको पासमा उसमान डेम्बेलेले गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरे।
यस जितसँगै सन् २०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
मोरक्कोका गोलकिपर यासिन बोनोले पहिलो हाफमा एमबाप्पेको पेनाल्टी बचाउनुका साथै केही उत्कृष्ट बचाउ गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। पराजयसँगै मोरक्कोको अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३४ खेलसम्म कायम रहेको अपराजित यात्रा पनि अन्त्य भएको छ।
प्रतिक्रिया