राहदानी विभाग अगाडिको घटनाका घाइते गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने, थप उपचारका लागि भारत पठाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०८३, शुक्रबार ०५:३२

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ। उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल पठाउने तयारी पनि अघि बढाइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको विशेष पहलमा गणेश नेपालीलाई भारत पठाउने प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसका लागि आवश्यक सम्पूर्ण समन्वय, प्राविधिक तथा व्यवस्थापकीय तयारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयले गरिरहेको छ।

घाइतेको स्वास्थ्य अवस्था बुझ्न तथा उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए। उनीहरूले उपचारमा संलग्न चिकित्सकहरूसँग घाइतेको स्वास्थ्य अवस्था र उपचारको प्रगतिबारे जानकारी लिएका थिए।

चिकित्सकसँगको परामर्शपछि बिरामीको गम्भीर अवस्थालाई मध्यनजर गर्दै उनलाई तत्काल भारत पठाउन आवश्यक सबै तयारी चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जनाइएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यो निर्णय नयाँ नभई प्रचलित कानुनको कार्यान्वयन भएको बताइन्। उनले सरकारले गम्भीर घाइते नागरिकको उपचारमा आवश्यक सहयोग गर्ने अभ्यासलाई निरन्तरता दिने स्पष्ट नीति लिएको उल्लेख गरिन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार घाइतेको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ। उपचार खर्चका कारण कुनै समस्या आउन नदिने सरकारको प्रतिबद्धता रहेको मन्त्रालयले जनाएको छ।

उक्त घटनाको कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ। प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा तथा उद्धारका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply