ठमेल पर्यटन विकास परिषद्को महासचिवमा पशुपति कंडेलको उम्मेदवारी, १० बुँदे कार्ययोजना सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०८३, बुधबार ०५:४६

काठमाडौं । युवा पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति कंडेलले ठमेल पर्यटन विकास परिषद्को महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। आगामी असार २७ गते हुने परिषद्को निर्वाचनलाई लक्षित गर्दै उनले ठमेलको पर्यटन, व्यवसाय र व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

उम्मेदवारी घोषणासँगै कंडेलले “संघर्षबाट सिकेको अनुभव, सेवाबाट कमाएको विश्वास र परिणाममुखी नेतृत्व” लाई आफ्नो चुनावी मूल नारा बनाएका छन्।

धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएका कंडेलले काठमाडौंलाई कर्मभूमि बनाउँदै लामो समयदेखि पर्यटन व्यवसाय र सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन गरेका उनी ठमेलस्थित आगन्तुक होटल तथा अतिथि होटल एन्ड अपार्टमेन्टका सञ्चालक हुन्।

व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएका कंडेल विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। लायन्स क्लबलगायतका संस्थामार्फत नियमित रक्तदान, सामाजिक सेवा तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा उनको सक्रिय सहभागिता रहँदै आएको छ।

१० बुँदे कार्ययोजना सार्वजनिक

महासचिव पदका उम्मेदवार कंडेलले चुनावी प्रतिबद्धताका रूपमा ठमेलको समग्र विकासका लागि १० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। उनका प्रमुख प्राथमिकतामा निम्न विषयहरू समावेश छन्–

  • ठमेललाई विश्वस्तरीय तथा दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने।
  • मौलिक कला, संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने।
  • ऐतिहासिक मन्दिर, बहाल, विहार र चोकहरूको संरक्षण गर्दै ‘सम्पदा भ्रमण’ अवधारणा विकास गर्ने।
  • घरधनी र व्यवसायीबीच सहकार्य, विश्वास र समन्वय अभिवृद्धि गर्ने।
  • पर्यटनमैत्री व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने।
  • शान्ति–सुरक्षा सुदृढ गर्न सडक बत्ती, आधुनिक सीसी क्यामेरा र व्यवस्थित ढल निकास विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने।
  • सडक बालबालिकाको व्यवस्थापन तथा पर्यटकमैत्री वातावरण निर्माणमा पहल गर्ने।
  • गृह मन्त्रालयबाट स्वीकृत पूर्णकालीन व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गराउने।
  • रोकिएका गुरुयोजनालाई पुनः अघि बढाउने तथा ठमेलका सडकहरूको नम्बरिङ कार्यलाई पूर्णता दिने।
  • ‘डिजिटल ठमेल’ अभियानअन्तर्गत निःशुल्क वाइफाइ, पर्यटक सूचना केन्द्र, वाकिङ–फ्रेन्ड्ली सडक तथा आधुनिक डिजिटल सूचना प्रणाली विकास गर्ने।

उम्मेदवारी घोषणा कार्यक्रममा कंडेलले ठमेल नेपालको पर्यटन उद्योगको प्रमुख पहिचान भएको उल्लेख गर्दै यसको व्यवस्थित विकास समयको आवश्यकता रहेको बताए।

उनले भने, “ठमेल केवल व्यापारिक केन्द्र मात्र होइन, यो नेपालको पर्यटनको साझा पहिचान हो। यसलाई सफा, सुरक्षित, सभ्य र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो। मेरो उम्मेदवारी पदका लागि होइन, परिवर्तनका लागि हो। म कुराभन्दा काममा विश्वास गर्छु र ठमेलका हरेक व्यवसायी तथा घरधनीको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दछु।”

निर्वाचनको मिति नजिकिँदै जाँदा परिषद्को नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। स्पष्ट कार्ययोजना, पर्यटन व्यवसायमा लामो अनुभव, सामाजिक सक्रियता र परिणाममुखी नेतृत्वको प्रतिबद्धतासहित कंडेलले महासचिव पदका लागि आफूलाई सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply