काठमाडौं । नेपाल टेलिकम र एनसेलले पुरानो थ्रीजी (3G) सेवा चरणबद्ध रूपमा बन्द गर्दै फोरजी (4G) सेवाको विस्तार तथा भविष्यमा फाइभजी (5G) सेवा सञ्चालनको तयारीलाई तीव्र बनाएका छन्।
पुरानो प्रविधिलाई विस्थापन गरी आधुनिक तथा उच्च क्षमतायुक्त नेटवर्क विस्तार गर्ने उद्देश्यले दुवै दूरसञ्चार सेवा प्रदायकले थ्रीजी सेवा बन्द गर्ने योजना अघि बढाएका हुन्। विश्वव्यापी रूपमा पनि अधिकांश टेलिकम कम्पनीहरूले थ्रीजी नेटवर्क हटाएर फोरजी र फाइभजीमा लगानी बढाइरहेका छन्।
दूरसञ्चार क्षेत्रका विज्ञहरूका अनुसार थ्रीजी प्रविधिले अहिलेको आवश्यकताअनुसार सीमित ब्यान्डविथ उपलब्ध गराउने, इन्टरनेटको गति कम हुने तथा भ्वाइस सेवाको गुणस्तर पनि फोरजीको तुलनामा कमजोर हुने भएकाले यसको प्रयोग क्रमशः घट्दै गएको छ।
थ्रीजी सेवा बन्द भएपछि त्यसका लागि प्रयोग हुँदै आएको स्पेक्ट्रम र नेटवर्क स्रोत फोरजी सेवाको क्षमता विस्तार, भ्वाइस ओभर लङ टर्म इभोलुसन (VoLTE) सेवाको गुणस्तर सुधार तथा भविष्यमा फाइभजी सञ्चालनका लागि उपयोग गरिनेछ। यसबाट ग्राहकले अझ तीव्र गतिको इन्टरनेट, स्पष्ट भ्वाइस सेवा र स्थिर नेटवर्क अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने लक्ष्यसहित काम गरिरहेको छ।
उनका अनुसार हाल थ्रीजी सेवा प्रदान गरिरहेका तीन हजारभन्दा बढी बेस ट्रान्ससिभर स्टेसन (BTS) मध्ये केही हटाउने काम सुरु भइसकेको छ। चितवनमा क्लस्टर बनाएर परीक्षण भइरहेको र त्यसको नतिजाका आधारमा देशभर थ्रीजी सेवा हटाइने उनले बताए।
हाल नेपाल टेलिकमले २१०० मेगाहर्ज फ्रिक्वेन्सीमा थ्रीजी सेवा सञ्चालन गरिरहेको छ भने ७६० स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसकेको छ। अब सम्पूर्ण स्थानीय तहमा फोरजी सेवा विस्तार गरी यसको गुणस्तर सुधार गर्ने योजना कम्पनीको छ।
टेलिकमले पुराना थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिममा परिवर्तन गर्न आग्रह गरेको छ। सिम परिवर्तनका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा अन्य सरकारी परिचयपत्रसहित नजिकको नेपाल टेलिकम कार्यालयमा जान सकिने व्यवस्था गरिएको छ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले असार २२ गतेदेखि पाँच प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा रहेका २२० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्न थालेको जनाएको छ। यसअघि कम्पनीले कोशी प्रदेशका केही क्षेत्रमा परीक्षणस्वरूप थ्रीजी सेवा बन्द गरिसकेको थियो।
एनसेलका अनुसार यस चरणमा कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिँदैछ।
एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारका अनुसार कम्पनीका एक करोड ४१ लाख सक्रिय ग्राहकमध्ये करिब ०.७ प्रतिशत मात्रै थ्रीजी सेवा प्रयोग गरिरहेका छन्। कम्पनीले सन् २०२७ को पहिलो त्रैमासिकभित्र देशभर थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने लक्ष्य राखेको छ।
उनका अनुसार थ्रीजी बन्द भए पनि ग्राहकहरूले टूजीमार्फत सामान्य भ्वाइस सेवा तथा फोरजी नेटवर्कमार्फत VoLTE प्रयोग गरेर उच्च गुणस्तरको भ्वाइस सेवा लिन सक्नेछन्। कम्पनीले हाल फोरजी सेवा देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार गरिसकेको जनाएको छ।
दुवै कम्पनीले अझै थ्रीजी प्रयोग गरिरहेका ग्राहकलाई फोरजी सक्षम सिम र मोबाइल प्रयोग गरी VoLTE सेवा सक्रिय गर्न आग्रह गरेका छन्। VoLTE सेवा प्रयोगका लागि फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल सेट र फोरजी नेटवर्क आवश्यक पर्ने जनाइएको छ।
दूरसञ्चार क्षेत्रका विज्ञहरूका अनुसार थ्रीजी सेवा बन्द गर्ने निर्णयले सीमित स्पेक्ट्रमको प्रभावकारी उपयोग, नेटवर्क सञ्चालन लागतमा कमी, फोरजी सेवाको गुणस्तर सुधार तथा भविष्यमा फाइभजी सेवा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ।
प्रतिक्रिया