लण्डन । बेलायत भ्रमणमा रहेका प्रिन्स ह्यारीले यसपटक पनि बकिङ्घम दरबारमा बस्न नपाउने भएका छन्। प्रारम्भमा राजदरबारमा परिवारसँग बस्न निमन्त्रणा दिइएको र ह्यारीले त्यसलाई स्वीकार गरेको भन्ने खबर सार्वजनिक भएपछि वर्षौंदेखिको पारिवारिक दूरी अन्त्य हुने अपेक्षा गरिएको थियो। तर केही समयपछि बकिङ्घम दरबारले उक्त दाबी अस्वीकार गर्दै ह्यारीलाई दरबारमा बस्ने व्यवस्था नगरिने स्पष्ट पारेको छ।
बेलायती सञ्चारमाध्यम द गार्जियनका अनुसार यो निर्णय राजा चार्ल्सको सल्लाहमा गरिएको हो। समाचारअनुसार राजा चार्ल्सले उत्तराधिकारी प्रिन्स विलियमसँग छलफलपछि ह्यारीलाई बकिङ्घम दरबारमा बस्न नदिने निर्णय गरेका हुन्। यसबारे ह्यारीलाई औपचारिक रूपमा जानकारीसमेत गराइएको बताइएको छ।
प्रिन्स ह्यारी सोमबार एक परोपकारी कार्यक्रमका लागि बेलायत पुगेका हुन्। लण्डन बसाइका क्रममा उनले आफ्ना पिता राजा चार्ल्स र परिवारसँग एक रात बिताउने इच्छा व्यक्त गरेका थिए। तर राजपरिवारभित्र लामो समयदेखि कायम मतभेदका कारण उनको यो चाहना पूरा हुने सम्भावना न्यून देखिएको छ।
ह्यारीकी पत्नी मेगन मार्कल र उनीहरूका दुई सन्तान भने हाल बेलायतमा छैनन्। उनीहरू केही दिनपछि मात्र बेलायत पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, ह्यारीको यस भ्रमणका क्रममा राजा चार्ल्ससँग भेट हुने वा नहुने विषय अझै निश्चित भएको छैन। क्यान्सरको उपचार गराइरहेका राजा चार्ल्ससँग भेटघाट हुने अपेक्षा गरिए पनि दरबारले यसबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
सञ्चारमाध्यमहरूका अनुसार ह्यारीले आफ्ना सन्तानलाई चार वर्षपछि हजुरबुवा राजा चार्ल्ससँग भेट गराउने इच्छा व्यक्त गरेका छन्। साथै, आफ्नी आमा राजकुमारी डायनाको समाधिस्थल देखाउने चाहना पनि उनले राखेको बताइएको छ।
सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएपछि प्रिन्स ह्यारी र मेगन मार्कलले सामान्य नागरिकका रूपमा जीवनयापन गर्दै आएका छन्। त्यसयता ह्यारी र बेलायती राजपरिवारबीचको सम्बन्ध पटक–पटक तनावपूर्ण बन्दै आएको छ, जसका कारण दुवै पक्षबीचको दूरी अझै पूर्ण रूपमा हट्न सकेको छैन।
प्रतिक्रिया