काठमाडौं । साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा भएको रोमाञ्चक राउन्ड अफ १६ को खेलमा अर्जेन्टिना ७९औँ मिनेटसम्म २–० ले पछि परेको थियो। तर अन्तिम ११ मिनेटमा लगातार तीन गोल गर्दै उसले अविस्मरणीय पुनरागमन जित दर्ता गर्यो।
खेलको १५औँ मिनेटमा इजिप्टका यासेर इब्राहिमले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६७औँ मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्याए।
तर त्यसपछि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्यो। ७९औँ मिनेटमा कप्तान लियोनल मेसीको सटीक क्रसमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काए। त्यसको पाँच मिनेटपछि मेसीले आफैं गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित हात पार्दै अन्तिम आठमा स्थान बनायो।
यस जितसँगै अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीच हुने क्वार्टरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
उता, ९२ वर्षपछि पहिलो पटक विश्वकपको समूह चरण पार गर्दै नकआउट चरणमा पुगेको इजिप्टको ऐतिहासिक यात्रा भने यही खेलसँगै समाप्त भएको छ।
यस खेलमा गोल गरेसँगै कप्तान लियोनल मेसीले विश्वकपमा लगातार नौ खेलमा गोल गर्ने दुर्लभ कीर्तिमान कायम गरेका छन्। जारी विश्वकपमा उनको गोल संख्या आठ पुगेको छ र उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।
मेसीले विश्वकप इतिहासमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने तथा छ संस्करणको विश्वकप खेल्ने खेलाडीका रूपमा आफ्नो ऐतिहासिक विरासतलाई थप मजबुत बनाएका छन्। निर्णायक क्षणमा टोलीलाई पुनरागमन जित दिलाउँदै उनले अर्जेन्टिनालाई पुनः उपाधि यात्रामा बलियो दाबेदारका रूपमा अघि बढाएका छन्।
प्रतिक्रिया