सरकारको सय दिनमै लोकतान्त्रिक प्रक्रिया कमजोर बनाइयो : अर्जुननरसिंह केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०८३, मंगलवार ०५:०३

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठन भएको सय दिनको अवधिमै लोकतन्त्र, विधि, पद्धति र संसदीय प्रक्रियामाथि निरन्तर हस्तक्षेप भएको आरोप लगाएका छन्।

सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद केसीले लोकतन्त्र परिणाममा मात्र सीमित नहुने, त्यसको प्रक्रिया पनि लोकतान्त्रिक, विधिसम्मत र पद्धतिसम्मत हुनुपर्ने बताए।

उनले लोकतन्त्र भनेको परिणाम, विधि, पद्धति र प्रक्रियाको समग्र स्वरूप भएको उल्लेख गर्दै सरकारको सय दिनको कार्यकालमा यी आधारभूत लोकतान्त्रिक मान्यतामाथि बारम्बार प्रहार भएको महसुस भएको बताए।

केसीले भने, “हाम्रो सरकारसँगको मुख्य प्रश्न यही हो कि लोकतन्त्र भनेको परिणाम मात्र होइन। परिणामसँगै प्रक्रिया पनि लोकतान्त्रिक, विधिसम्मत र पद्धतिसम्मत हुनुपर्छ। विधि, पद्धति र प्रक्रियाको संयुक्त स्वरूप नै लोकतन्त्र हो। तर सय दिनभित्र यी आधारहरूलाई एकपछि अर्को गर्दै कमजोर बनाउने काम भएको छ।”

प्रधानमन्त्रीले संसद्मा व्यक्त गर्ने धारणा व्यक्तिगत नभई सरकारको आधिकारिक धारणा हुने भएकाले त्यसबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने दायित्व प्रधानमन्त्रीकै रहेको उनले बताए।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे विगत पाँच–सात सातादेखि संसद्मा प्रश्न उठिरहेको उल्लेख गर्दै केसीले अहिलेसम्म स्पष्ट जवाफ नआएको भन्दै आवश्यक परे सम्बन्धित अभिव्यक्ति फिर्ता लिन, सच्याउन वा त्यसको आशय स्पष्ट पार्नुपर्ने धारणा राखे।

सांसद केसीले संसद्को गरिमा र भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै संसद् प्रतिपक्षको मात्र नभई सभामुख, सत्तापक्ष र प्रतिपक्ष सबैको साझा लोकतान्त्रिक संस्था भएको बताए।

उनले संसद् सरकार गठन गर्ने मात्र नभई सरकारलाई जवाफदेही बनाउने, निर्देशन दिने र लोकतान्त्रिक शासन प्रणालीको सर्वोच्च संसदीय मञ्च भएकाले यसको भूमिका र सम्मानलाई कमजोर पार्ने कुनै पनि प्रयास लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक हुने बताए।

प्रतिक्रिया

Leave a Reply