काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारीका ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
मन्त्रालयका अनुसार नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेपछि साविकमा राष्ट्रियस्तरका ट्रेड युनियनका रूपमा रहेका केही संगठनले सरकारी जग्गामा निर्माण गरी प्रयोग गरिरहेका भवन तथा अन्य संरचनाको कानुनी आधार समाप्त भएको छ। साथै, मन्त्रिपरिषद्को निर्णयअनुसार श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट ती संगठनहरूको ट्रेड युनियन दर्तासमेत खारेज भइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको सूचनामा सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आफूले प्रयोग गरिरहेका भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी सम्बन्धित कागजात, सम्पत्तिको जिम्मेवारी तथा भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनुपर्ने उल्लेख गरिएको छ।
निर्धारित अवधिभित्र संरचना खाली नगरिए प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ। साथै, सम्बन्धित भवनहरूमा जिल्ला प्रशासन कार्यालयको रोहवरमा सूचना टाँस गरिएको पनि मन्त्रालयले जनाएको छ।
सूचनाअनुसार स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल लगायतका संगठनले प्रयोग गरिरहेका सरकारी जग्गामा बनेका भवन तथा संरचना खाली गर्नुपर्नेछ।
सरकारले ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेसँगै सरकारी सम्पत्तिको व्यवस्थापन र उपयोगलाई कानुनी प्रक्रियाअनुसार व्यवस्थित गर्न यो कदम चालिएको मन्त्रालयको भनाइ छ।
प्रतिक्रिया