सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड रुपैयाँ हिनामिना प्रकरण : इन्स्पेक्टरसहित दुई पक्राउ, उच्च अधिकारीमाथि पनि छानबिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०८३, सोमबार ०५:३१

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले सञ्चालन गर्दै आएको कीर्तिपुरस्थित विद्यालयको करिब ११ करोड रुपैयाँ हिनामिना भएको प्रकरणमा एक इन्स्पेक्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विद्यालयकी तत्कालीन लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका निकटस्थ लीला लामा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सशस्त्र प्रहरी बलको पत्रका आधारमा शनिबार दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

परिसर प्रमुख एसएसपी दिलीप घिमिरेले विद्यालयको रकम अपचलन भएको विषयमा अनुसन्धान भइरहेको पुष्टि गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताए।

प्रारम्भिक अनुसन्धानअनुसार इन्स्पेक्टर गुरुङले विद्यालयको रकम आफ्ना निकटस्थ लीला लामाको बैंक खातामा पटक–पटक स्थानान्तरण गरी अपचलन गरेकी थिइन्। सशस्त्र प्रहरीले यस घटनाको अनुसन्धान गर्न डिआइजी युवराज अर्यालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले गुरुङले गैरकानुनी रूपमा संगठनको रकम अपचलन गरेको निष्कर्ष निकालेपछि फौजदारी कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको थियो।

अनुसन्धानका क्रममा अपचलन गरिएको रकम लीला लामाले सञ्चालन गर्दै आएको रेस्टुरेन्ट तथा ट्राभल व्यवसायमा लगानी गरिएको खुलेको छ। प्रारम्भमा रकम केही समयपछि फिर्ता गर्ने सहमतिमा निकालिएको भए पनि व्यवसायमा घाटा भएपछि रकम फिर्ता गर्न नसकिएको प्रारम्भिक बयानमा उल्लेख छ। छानबिनका क्रममा दुवैले रकम अपचलन गरेको स्वीकार गरेको स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार यस प्रकरणमा आपराधिक लाभ (क्रिमिनल ब्रिच अफ ट्रस्ट) सँगै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा समेत अनुसन्धान गर्ने तयारी भइरहेको छ।

घटनामा अन्य उच्च अधिकारीको भूमिका रहेको हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ। विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग्विजय सुवेदी (हाल डिआइजी), भूपेन्द्र केसी (एसएसपी)रामजंग पाण्डे (एसपी) माथि पनि छानबिन भइरहेको छ। यद्यपि हालसम्म उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि भएको छैन।

अनुसन्धानबाट विद्यालयबाट सशस्त्र प्रहरी कल्याण कोषमा पठाउनुपर्ने रकम समयमै जम्मा नगरी व्यक्तिगत खातामा सारिएको, कतिपय अवस्थामा कल्याण कोषमा रकम नै नजम्मा गरी नक्कली भौचर पेश गरिएको तथा वर्षौँसम्म लेखापरीक्षणबाट समेत अनियमितता लुकाइएको आशंका गरिएको छ।

यस घटनामा सशस्त्र प्रहरीको कल्याण शाखाका कर्मचारीको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ। साथै विद्यालयको खाता रहेको एनआईसी एशिया बैंकको कीर्तिपुर शाखा तथा रकम निकालिएको लाजिम्पाट शाखाको प्रक्रियामाथि समेत अनुसन्धान केन्द्रित गरिएको छ। आवश्यक प्रक्रिया पूरा नगरी रकम झिकिएको हुन सक्ने आशंकामा बैंकको भूमिकासमेत परीक्षण भइरहेको जनाइएको छ।

यो प्रकरण सशस्त्र प्रहरी बलभित्र सार्वजनिक भएको पछिल्ला वर्षकै ठूलो आर्थिक अनियमिततामध्ये एक मानिएको छ। अनुसन्धान जारी रहेकाले आगामी दिनमा थप व्यक्ति कानुनी दायरामा आउन सक्ने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply