काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्रसंघ (यूएन) को सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन अमेरिका प्रस्थान गरेसँगै दुवै सुरक्षा संगठनमा निमित्त नेतृत्व तोकिएको छ।
नेपाल प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई दिइएको छ भने सशस्त्र प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ एआईजी वंशीराज दाहालले सम्हाल्ने भएका छन्।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार आईजीपी कार्कीको अनुपस्थितिमा प्रहरी संगठनका नियमित प्रशासनिक, संगठनात्मक तथा आवश्यक निर्णयसम्बन्धी सम्पूर्ण जिम्मेवारी एआईजी अधिकारीले निर्वाह गर्नेछन्। अधिकारी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्व गरिरहेका छन्।
यस्तै, सशस्त्र प्रहरी बलमा सीमा सुरक्षा विभाग प्रमुख एआईजी वंशीराज दाहालले महानिरीक्षक पौडेलको अनुपस्थितिमा संगठनको नेतृत्व सम्हाल्नेछन्।
आईजीपी कार्की र महानिरीक्षक पौडेल जुलाई ७ देखि ९ सम्म अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजना हुने सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ।
उक्त सम्मेलनमा विश्वभरका प्रहरी नेतृत्वबीच अन्तर्राष्ट्रिय सुरक्षा, सीमापार अपराध नियन्त्रण, शान्ति स्थापना, प्रविधिमैत्री प्रहरी सेवा तथा अन्तरदेशीय सहकार्यका विषयमा छलफल हुने जनाइएको छ। नेपालका दुवै सुरक्षा संगठनका प्रमुखहरूको सहभागिताले अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य सुदृढ बनाउन तथा नेपालको सुरक्षा अनुभव विश्व समुदायसँग आदानप्रदान गर्न महत्वपूर्ण अवसर मिल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया