खोटाङमा १५ शय्याको अस्पताल निर्माण अलपत्र, तीन वर्षमा ३३ प्रतिशत मात्रै प्रगति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०८३, मंगलवार ०५:५४

खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण खोटाङको जन्तेढुंगा गाउँपालिका–५, चिसापानीमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन तीन वर्षभन्दा बढी समय बित्दा पनि अलपत्र अवस्थामा पुगेको छ। निर्धारित समयमा सम्पन्न हुनुपर्ने आयोजना हालसम्म ३३ प्रतिशत मात्रै सम्पन्न भएको छ।

गाउँपालिका र ड्रागन–रियर जेभीबीच २०७८ असार २५ गते निर्माण सम्झौता भएको थियो। सम्झौताअनुसार कम्पनीले २०७९ असार २८ गतेभित्र अस्पताल भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो। तर, समयमै काम सम्पन्न नभएपछि निर्माण अवधि पाँच पटकसम्म थप गरिए पनि अपेक्षित प्रगति हुन सकेको छैन।

करिब २० करोड ७१ लाख रुपैयाँ लागतमा निर्माण हुने अस्पतालको हालसम्म ३३ प्रतिशत मात्रै काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। यस अवधिमा ठेकेदार कम्पनीले ६ करोड ४९ लाख ६ हजार रुपैयाँ भुक्तानीसमेत लिइसकेको छ।

गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक खेमबहादुर खड्काले पर्याप्त बजेट र आवश्यक सहजीकरण गरिए पनि ठेकेदार कम्पनीले जिम्मेवारीअनुसार काम नगरेको आरोप लगाए। उनका अनुसार पटक–पटक ताकेता र म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि अब ठेक्का सम्बन्धमा आवश्यक निर्णय गर्न कार्यपालिका बैठक बोलाइने तयारी भइरहेको छ।

अस्पताल निर्माणका लागि स्थानीयवासीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। तर, निर्माण कम्पनीले डीपीआर परिवर्तनमा भएको ढिलाइ, पर्याप्त बजेटको अभाव तथा फोक्सिङटारमा पुल नहुँदा निर्माण सामग्री ढुवानीमा समस्या भएको कारण देखाउँदै काम प्रभावित भएको जनाएको छ।

स्थानीयवासीले स्वास्थ्य सेवा विस्तारका लागि अत्यन्त महत्वपूर्ण मानिएको अस्पताल लामो समयदेखि अधुरो रहँदा सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गरेका छन्। अब गाउँपालिकाले ठेकेदार कम्पनीविरुद्ध कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor