काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले मंगलबार अनुसन्धान अपूरो रहेको भन्दै थप तीन दिनको म्याद दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका क्रममा पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि अदालतले असार ९ गते पहिलोपटक सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो।
उक्त म्याद समाप्त भएपछि अनुसन्धान अझै बाँकी रहेको भन्दै प्रहरीले पुनः म्याद थपका लागि विशेष अदालतमा निवेदन दिएको थियो। अदालतले सोही निवेदनमाथि सुनुवाइ गर्दै थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
अब यो अवधिमा अनुसन्धान निकायले आवश्यक प्रमाण संकलन, बयान तथा अन्य कानुनी प्रक्रिया पूरा गर्नेछ। अनुसन्धानको निष्कर्षका आधारमा पौडेलविरुद्ध मुद्दा दायर गर्ने वा अन्य कानुनी निर्णय लिने प्रक्रिया अघि बढ्नेछ।
प्रतिक्रिया